Fast Nepal News

धार्मिक सेवा र दानसहित नगरप्रमुख विष्टको टोली गण्डकी कोटिहोमबाट फर्कियो

banner single news

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत बुधबारको प्रवचन स्थल अन्य दिनको तुलनामा केही फरक र विशेष देखिएको थियो।

मूलद्वारको प्रवचन स्थल विशेषरूपमा ठूलो संख्यामा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सोही प्रवचन कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उप–प्रमुख भरत गोपाली, नगरपालिकाका कर्मचारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले कार्यक्रमलाई झनै भव्य र उत्साहजनक बनाएको थियो। नगरप्रमुख विष्ट र उप–प्रमुख गोपाली प्रवचन स्थलमै छमछम्ती नाचेर धार्मिक वातावरणमा रमाएका थिए, जसले कार्यक्रममा विशेष आकर्षण थपेको थियो।

कार्यक्रमका क्रममा नगरप्रमुख विष्टले कोटिहोमलाई सम्बोधन गर्दै ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने कुरामा जोड दिए। “ज्येष्ठ नागरिकहरूप्रतिको कदर र सेवा नै हाम्रो कर्तव्य हो,” उनले भने। साथै उनले कोटिहोमका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरे। उक्त सहयोग नगरपालिकाको तर्फबाट मात्र नभई व्यक्तिगत रूपमा समेत उपलब्ध गराइने उनले स्पष्ट पारे।

प्रवचन स्थलमा उपस्थित स्थानीय बासिन्दाहरूले नगरप्रमुखको सक्रियता र सहयोगी भावना प्रति प्रशंसा व्यक्त गरेका थिए। उनीहरूले यस प्रकारका धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा जनप्रतिनिधिहरूको सहभागिताले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।

Inside Article Ads

यस महायज्ञमा पहिलोपटक पोखरा बाहिरका पालिकाका प्रमुखहरूको उपस्थिति देखिएको हो, जसले कार्यक्रमलाई राष्ट्रिय स्तरको स्वरूप दिएको छ। थाहा नगरपालिकाको सहभागिता यस अर्थमा विशेष रह्यो कि त्यो नगरको प्रतिनिधित्व गर्दै प्रमुख तथा उपप्रमुख दुबै उपस्थित भएका थिए।

 

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजले पनि नगरप्रमुख विष्टको उपस्थिति र सहयोगको खुलेर प्रशंसा गर्दै भने, “हामीप्रति कुनै रिसराग छैन। म र हाम्रो मानव सेवा फाउण्डेशन सधैं स्वागत गर्न तत्पर छौं।” उनले अन्य नगर र पालिकाका अध्यक्षहरूलाई पनि आउन र सहभागिता जनाउन आह्वान गरे।

कार्यक्रमको दौरान कोटिहोम सम्पूर्ण स्थलमा नगरप्रमुख सहितको टोलीले भ्रमण गरेको थियो। विभिन्न भागहरूमा पुगेर कार्यक्रमको अवलोकन गर्दा भक्तजनहरूले उत्साहपूर्वक ताली बजाएर स्वागत गरेका थिए। प्रवचन स्थलमा विद्युत सजावट, फूलमालाले सजाइएको प्रवेशद्वार, र सांस्कृतिक कार्यक्रमहरूले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाएको थियो।

यस्ता कार्यक्रमहरूले धर्म, संस्कृति र सामाजिक समृद्धिलाई जोड्ने पुलको काम गर्छन् भन्ने जनविश्वास रहेको छ। नागरिकहरूले स्थानीय जनप्रतिनिधिहरूको सक्रियताले उनीहरूप्रति जनस्तरको विश्वास अझ मजबुत हुने बताए।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.