
डायमण्ड जोशी ।
काठमाडौं ।
विश्व विराट ज्ञान आश्रमले ऐतिहासिक श्रीमद्भागवत महापुराण महायज्ञ सञ्चालन गर्ने भएको छ । यही भदौ २४ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी महायज्ञ सञ्चालन हुने विश्व विराट ज्ञान आश्रमका सङ्गठन प्रमुख उद्धवकुमार घिमिरेले जानकारी दिए । वासुकीचौर गोरक्षपीठ भुवनेश्वरी मन्दिरको प्रांगणमा राष्ट्र राष्ट्रियता तथा वैदिक सनातन धर्मका निमित्त योगदानको अपेक्षा सहित उक्त कार्यक्रम संचालन गरिने प्रमुख घिमिरेले जनाए । महायज्ञमा प्रमुख वाचकका रूपमा वाचन प्रविण पं. दिनबन्धु पोखरेल रहनेछन भने पं. विपिनकृष्ण भट्टराई उपवाचक रहने छन् ।
एक हप्तासम्म सञ्चालन गरिने महायज्ञको पूर्व सन्ध्यामा भजनकिर्तन सहित नाचगान हुने घिमिरेले बताए। कार्यक्रममा श्रीमद्भागवतको पूर्वाङ्ग दीप प्रज्ज्वलन सँगै महायज्ञको शुभारम्भ हुनेछ । महायज्ञको पहिलो दिन कलश यात्रा निकाल्ने र ३ किलोमिटर बजार परिक्रमा गरिने कार्यक्रम रहेको घिमिरेको भनाइ छ । शास्त्र अध्ययन र आध्यात्मिक अनुसन्धानका लागि महायज्ञ सञ्चालन गरिने र महायज्ञले समस्त लोककल्याणका लागि बिगुल फुक्ने एवंक्रमले भक्तजनहरूलाई प्रेरणा दिने उनले बताए । उनले भने; पछिल्लो पुस्ता आफ्नो स्वधर्मको महत्व र औचित्यदेखि अज्ञात रहेकाबेला हामीले सनातनको शाश्वत फाइदाको ज्ञान गराउन र उनिहरूलाई कुलतबाट जोगाउन समेत हामीले यो विशाल कार्यक्रम आयोजना गरेका हौं ।
वैदिक सनातन धर्मको संरक्षण र प्रचारप्रसार गर्ने हेतुले विराट गुरुकुल स्थापनार्थ महायज्ञले राम्रो सहयोग पुर्याउने प्रमुख घिमिरेले बताए ।
सडकमा अलपत्र परेका एवं भोको पेट र उपचार बिना तड्पिरहेका बृद्ध आमाबुवा र अशक्तहरूलाई भगवन्नाम महत्वको आलोक झल्काउन र उनिहरूलाई बस्ने उचित वातावरण बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए ।
महायज्ञले समाजलाई सकारात्मक मार्गमा अभिप्रेरित गर्दै सबैको आत्मसम्मानलाई झन् प्रकाश दिने आश्रमका सङ्गठन प्रमुख घिमिरेले विश्वास व्यक्त गरे ।
राष्ट्रको असली मर्म उजागरका लागि विभिन्न कालखण्डमा महायज्ञ सञ्चालन हुँदै आएको घिमिरेले स्मरण गरे । विशेष अनुष्ठानका माध्यम मार्फत ज्ञानको उजागरका लागि पनि महायज्ञ सञ्चालन गर्न लागिएको उनको भनाइ छ । त्यसक्रममा नेपालको धार्मिक पर्यटन वृद्धिका साथै स्वधर्मको पहिचानका लागि महायज्ञको आयोजना गर्न लागिएको उद्धवकुमार घिमिरेले जानकारी दिए । उनले समाजमा पछिल्लो समयमा आचरण बिग्रिरहेको अवस्थामा सकरात्मक सोंचको विकासका लागि पनि यो महायज्ञले ठूलो सघाउ पुर्याउने बताए । यस्तो पवित्र अनुष्ठान भइरहेका बेला सञ्चारमाध्यमले सात्विक प्रचारप्रसारमा सहयोग गरि धार्मिक पर्यटन वृद्धिमा सहयोग पुर्याउन समेत उनले आग्रह गरे ।
