Fast Nepal News

कर्णालीमा ७६ हजारलाई खोप लगाइँदै

banner single news

वीरेन्द्रनगर — ११ श्रावण २०७८  

वीरेन्द्रनगर, कर्णाली प्रदेशमा सोमबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुन लागेको छ । सरकारले कर्णालीका लागि ५९ हजार डोज भेरोसेल र १७ हजार ३ सय २० डोज जोन्सन एन्ड जोन्सन खोप पठाएपछि अभियान फेरि सुरु गर्न लागिएको हो ।प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार हालसम्म १ लाख ७ हजार ३ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जसमध्ये २८ हजार ८ सय ४८ जनाले कोभिसिल्ड खोपको दोस्रो डोजसमेत लगाइसकेको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले बताए ।

उनका अनुसार २२ हजार ५ सय ७० ले भेरोसेल खोपको पहिलो डोज लगाएका छन् । ‘केहीले भेरोसेलको पनि दोस्रो डोज लगाइसकेका छन्,’ उनले भने, ‘सबै जिल्लाबाट तथ्यांक नआएकाले कतिले लगाए भन्ने यकिन छैन ।’निर्देशनालयका अनुसार सोमबारदेखि १० वटै जिल्लाले आफूलाई पायक पर्ने स्थान र समयमा तीन/चार दिनसम्म खोप अभियान चलाउनेछन् । चौधरीका अनुसार सुर्खेत र दैलेखमा खोप पुगिसकेको छ भने अन्य जिल्लामा पनि पठाउने तयारी भइरहेको छ । खोप भण्डारणको अवस्था र क्षमता हेरेर खोप पठाइने उनले जानकारी दिए । ‘भण्डारण लामो समयसम्म हुन नसक्ने ठाउँमा पहिलो डोज मात्रै पठाइनेछ,’ उनले भने, ‘भण्डारण सुविधा भएका ठाउँमा भने दोस्रो डोज पनि पठाउने हाम्रो तयारी छ ।’

भेरोसेल खोप लगाउन उमेर खुल्ने कागजात (नागरिकता, सवारी चालक अनुमतिपत्र वा वडाको सिफारिस) अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताए । उनका अनुसार विश्वविधालयका प्राध्यापक, शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सहचालकहरूलाई पनि यो चरणमा खोप लगाइनेछ । ‘आधिकारिक परिचयपत्र नभएकालाई खोप लगाइनेछैन,’ उनले भने, ‘जसका लागि सार्वजनिक सूचना प्रवाह गरिरहेका छौं ।’ उनले कोरोनाको लक्षण भएका, सिकिस्त बिरामी र कोरोना भएको ३० दिन ननाघेका नागरिकलाई खोप नलगाउन सुझाव दिइएको बताए ।

भेरोसेल खोप अभियान सकिएपछि थप २३ हजार नागरिकलाई अमेरिकी जोन्सन एन्ड जोन्सन खोप लगाइने छ । जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका र खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई लगाइने वाग्लेले बताए । उनका अनुसार ‘क’ र ‘ख’ वर्गको अपांगता भएका, स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई उक्त खोप लगाइनेछ । जोन्सन खोपको एउटा मात्रा लगाए पुग्ने भएका कारण विदेश जाने नागरिकलाई पहिलो प्राथमिकता दिइने उनले बताए ।
Inside Article Ads

सुर्खेतमा यो चरणको खोप अभियानमा २८ हजार ७ सय १२ जना नागरिकलाई खोप लगाइने जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ५५ वर्ष उमेर पुगेका र खोपको पहिलो मात्रासमेत नलगाएका नागरिकलाई खोप लगाउने योजना छ । सुर्खेतमा हालसम्म ३३ हजार ४ सय ४९ जनाले कोरोनाको खोपको पहिलो मात्रा र १४ हजार २ सय ७९ जनाले खोपको दोस्रो मात्रा लगाएका छन् । सुर्खेतमा १८ हजार ७ सय ७ जना कोभिडसिल्डको दोस्रो मात्रा लगाउने पर्खाइमा छन् ।

(कान्तिपुर दैनिक)

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.