बैतडी — १० श्रावण २०७८
बैतडी, लकडाउन खुलेसँगै कोरोना सतर्कता पनि जिल्लामा घट्दो क्रममा छ । बजारमा व्यापारीदेखि सेवाग्राहीसम्म कमले मात्र मास्क लगाएको देखिन्छ । सेनिटाइजरको प्रयोग त अधिकांशले गर्नै छोडिसकेका छन् ।जिल्लामा धेरैको सहभागितामा विभिन्न कार्यक्रम पनि भइरहेकै छन् । जिल्लाका मुख्य बजार र चोकहरूमा पनि स्थानीयको बाक्लो भीडभाड देख्न सकिन्छ । पसलहरूमा पनि भौतिक दूरीबिनै किनबेच भइरहेको हुन्छ ।
५० बढी घरधुरी रहेको जिल्ला सदरमुकामको मुख्य बजार गढीमा केही समयअघि कोरोना संक्रमण घरघरै भएको थियो । चार जनाको दोस्रो चरणको कोरोनाको बेला एकै टोलमा मृत्युसमेत भएको थियो । भयावह अवस्था रहेको गढीमा पनि अहिले सुरक्षा सतर्कता नरहेको स्थानीय शोभा सिनालले बताइन् । उनले भनिन्, ‘कसैले पनि कोरोनाको डर मान्दैनन् । फेरि बढ्ला कि भन्ने लाग्छ ।’
जिल्लामा अहिले २४ सक्रिय संक्रमित छन् । एक जना जिल्ला अस्पतालमा भर्ना भएको अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए । यही सतर्कता नभएर कोरोनाको दोस्रो चरण यति छिटो फैलिएको डा. जोशीले बताए । ‘घट्दो चरणमा रहेको कोरोना यस्तै लापरबाही भए बढ्ने देखिन्छ,’ उनले भने, ‘सबैले खोप पाएका पनि छैनन् । फेरि फैलिन्छ होला । तेस्रो लहर आउन सक्छ । झनै गाह्रो अवस्था रहन सक्छ ।’
(कान्तिपुर दैनिक)