Fast Nepal News

१० दिनसम्म आउँदैन रिपोर्ट

banner single news

पर्वत, लमजुङ — १० जेष्ठ

पर्वत, लमजुङ, वैशाख अन्तिम साता पर्वतको फलेबास–३ शंकरपोखरी गाउँभरि रुघाखोकी र ज्वरोका बिरामी भेटिए । वैशाख २४ मा भएको एक विवाहमा सहभागी सबैलाई रुघाखोकी र ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षणका लागि पोखरा पठाइयो । तर परीक्षण रिपोर्ट आइतबारसम्म पनि आएको छैन ।

जलजला गाउँपालिका–२, ३, ४ र ५ मा दिनहुँजसो ५०/६० जनाको संख्यामा बिरामी थपिइरहेका छन् । पालिकाले गाउँमै पुगेर शंकास्पदको संकलन गरेको स्वाबको रिपोर्ट पनि अझै आएको छैन । परीक्षण रिपोर्ट १० दिनसम्म पनि नआउँदा स्थानीयमा थप संक्रमण फैलने त्रास बढेको छ । अर्कोतर्फ मेलापात र खेतीपातीमा जुटिरहेकै छन् ।

कुश्मा र फलेबास नगरपालिका, जलजला, मोदी, महाशिला, बिहादी र पैयुँ गाउँपालिकाबाट वैशाख ३१ मा पठाइएको तीन सय स्वाबको नमुनाको नतिजा पनि १० दिन बितिसक्दा आएको छैन । जिल्लामा परीक्षणको व्यवस्था नहुँदा संकलित स्वाब पोखरास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाउनुपर्छ । तर प्रयोगशालाले रिपोर्ट दिन ढिलाइ गर्दा गाउँमा प्रकोपले उग्ररूप लिने जोखिम बढेको हो । ‘स्वाब पठाएको १० दिन भइसक्यो । अझै रिपोर्ट आएको छैन,’ फलेबास–३ का ध्रुव तिवारीले भने, ‘आशंका गरिएकाहरू गाउँघर र मेलापात गरिरहेकै छन् । उनीहरू संक्रमित नै रहेछन् भने परिवार र गाउँमा अवस्था भयावह हुन्छ ।’

गाउँका घरघरै एकपछि अर्को बिरामी पर्न थालेपछि कोरोना नै फैलिएको आशंका गरिए पनि स्वाबको नतिजा नआउँदा त्रसित बनेको उनले सुनाए । ‘पीसीआर रिपोर्ट नआउँदा क्वारेन्टाइन बसेकालाई बाहिर निस्कन पाएका छैनन्,’ कुश्मा–१२ का वडाध्यक्ष राजेन्द्र पौडेल भन्छन्, ‘रिपोर्ट छिटो आए बिरामीलाई उपचार गर्न र अरूलाई घरमै बस्न सहज हुन्थ्यो ।’

यसले संक्रमितको पहिचान मात्रै होइन, कन्ट्याक्ट ट्रेसिङमा पनि समस्या भएको छ । ‘एकातिर स्वाब ढिलो लिने र नतिजासमेत ढिलो आउँदा समस्या भयो । अहिले मान्छे स्वाब दिएर घरमै सिरियस भएर बसेका छन्,’ पर्वत अस्पतालका निमित्त मेसु डा. ढुण्डीराज पौडेल भन्छन्, ‘कोरोना हो, होइन भनेर कन्ट्याक्ट ट्रेसिङ गर्नै समस्या छ । रिपोर्टको ढिलाइले संक्रमितको व्यवस्थापनमा कठिनाइ भयो ।’

लमजुङको सुन्दरबजार नगरपालिकाले वैशाख ३० मा भोटेओडारबाट ५५ जनाको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठायो । त्यसको रिपोर्ट पनि आइतबारसम्म आएको छैन । गत सोमबार स्वाब संकलन गरिएका ३८ मध्ये तीन जनाको रिपोर्ट मात्रै आइतबार आएको छ । सुन्दरबजार स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाका अनुसार वैशाख ३० देखि जेठ ६ सम्म २०८ जनाको स्वाब पठाएकोमा ८७ जनाको मात्रै रिपोर्ट आएको छ ।

Inside Article Ads

दूधपोखरीको गौंडास्थित प्राथमिक स्वास्थ्य केन्द्रका ल्याब टेक्निसियन अनिता गुरुङले वैशाख ३१ मा ३५ जनाको स्वाब लिएर आफैं जेठ १ मा पोखरा पुर्‍याइन् । तर रिपोर्ट आएको छैन । ‘पोखरा लगेको ८/१० दिन भयो । बिरामी मान्छे निको भएर हिँडिसक्यो । अब पोजिटिभ रिपोर्ट आयो भने ती मान्छेलाई के गर्ने ?’ उनले भनिन् ।

मध्यनेपाल नगरपालिका–१० नेटाबाट वैशाख ३१ मा ३२ जनाको स्वाब पोखरा पठाएकोमा अहिलेसम्म रिपोर्ट नआएको स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेलले बताए । उनका अनुसार सोमबार पठाइएको ८८ जनाको स्वाबको पनि रिपोर्ट आएको छैन । नगर प्रमुख रमेशकुमार पाण्डेले पीसीआर परीक्षणमा लापरबाही भएको बताए । ‘रिपोर्ट कुर्दाकुर्दै जनताको ज्यान जाने बेला भइसक्यो । अब हामी पीसीआरको तनावबाट मुक्त हुन चाहन्छौं । त्यसका लागि एन्टिजेन परीक्षण थालेका छौं,’ उनले भने ।

उनका अनुसार अहिले ५० वटा एन्टिजेन किट ल्याएर परीक्षण थालिएको छ । नगरपालिका आफैंले ५ सय एन्टिजेन किट ल्याउने प्रक्रियामा रहेको उनले बताए । स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले गाउँगाउँमा कोरोना फैलिरहेको बेला पीसीआर रिपोर्ट आउन निकै ढिलो भएको बताए । ‘यसले संक्रमण फैलिएमा रोक्न सकिँदैन । झन् फैलिन सक्छ,’ उनले भने । उनले अब पीसीआरको विकल्प खोजेर एन्टिजेन परीक्षण गर्नुपर्नेमा जोड दिए ।

संक्रमण बढेपछि प्रदेश प्रयोगशालामा स्वाबको ओइरो लागेको र धान्न नसकेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंसमेत पठाइएको छ । ती नमुनाको रिपोर्ट नआएको प्रगोगशालाले जनाएको छ । प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले पीसीआर मेसिन र जनशक्ति अभावमा दैनिक हजार नमुनाको मात्रै परीक्षण भइरहेको बताइन् । ‘दिनमा १६ सयदेखि १८ सयसम्म स्वाबको नमुना आउँछन्,’ उनले भनिन्, ‘जेठ ५ सम्मका २५ सय स्वाब काठमाडौं पठाइएको हो । तिनको परीक्षण र रिपोर्ट आउन ढिलाइ भएको हो ।’

अहिले जिल्लाबाट प्रयोगशालामा प्राविधिक झिकाइएको, दुई जना संस्थाले पठाएको र तीन जना आइतबारै छनोट गर्न लागिएकाले अब जनशक्ति अभाव नहुने र दैनिक १५ सय नमुनाको परीक्षण गर्न सकिने भएकाले समस्या समाधान हुने उनले बताइन् ।

( आजको कान्तिपुर दैनिकमा )

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.