Fast Nepal News

अक्सिजन अभावले टीकापुर अस्पतालमा दुई दिनमा १२ को मृत्यु

banner single news

काठमाडौं, वैशाख २८

काठमाडौं, सिलिन्डर रिफिल गर्न लैजाँदा अक्सिजन लिइरहेका बिरामीलाई थप समस्या, एउटा बिरामीलाई निको हुँदासम्म सरदर ७ सिलिन्डर आवश्यक

कैलालीको टीकापुर अस्पतालमा दुई दिनमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिरामीको चापअनुसार अक्सिजन उपलब्ध नहुँदा संक्रमितले ज्यान गुमाउनुपरेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

टीकापुर अस्पतालमा बेड अभावमा बरन्डामा उपचार । तस्बिर : गणेश चौधरी/टीकापुरअस्पतालका कोरोना फोकल पर्सन डा. रमेश उपाध्यायले सीमित सिलिन्डरका कारण बिरामीले अक्सिजन नपाउने अवस्था रहेको बताए । ‘सिलिन्डर रिफिल गर्न लैजाँदा अक्सिजन लिइरहेको बिरामीको बीचैमा ब्रेक हुने अवस्था छ,’ उनले भने, ‘अक्सिजनको ब्याकअप नहुँदा नियमित अक्सिजन नपाउने र बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था छ ।’

अस्पतालमा सोमबारसम्म कोरोनाका बिरामीलाई करिब ४५ सिलिन्डर रनिङ अवस्थामा रहेको उनले बताए । उनका अनुसार एउटा बिरामीलाई निको हुँदासम्म सरदर ७ सिलिन्डर अक्सिजन आवश्यकता पर्छ । सिलिन्डरको अभावसँगै रिफिल गर्न नेपालगन्ज जानुपर्ने बाध्यताले थप समस्या निम्तिएको हो ।

संक्रमित बिरामी गम्भीर भएपछि मात्र अस्पताल आउने गरेकाले समस्या भइरहेको चिकित्सकहरू बताउँछन् । ‘सुरुमा ज्वरो आउने अनि हराउने हुन्छ । खोकी लाग्छ, छातीमा समस्या हुन्छ,’ डा. उपाध्यायले भने, ‘सुरुमै ज्वरो आउँदा बिरामीले वास्ता गर्दैनन् । आठ दिनपछि छाती खराब भइसकेपछि अस्पताल आउँछन् । अवस्था जटिल भइसकेको हुन्छ ।’

Inside Article Ads

टीकापुर अस्पतालमा दिनमा १० जनाजति गम्भीर अवस्थाका संक्रमित आउने गरेका छन् । सबैजसो बिरामीलाई अक्सिजनको आवश्यकता परेको छ । अस्पतालमा संक्रमितको उपचारका लागि १५ शय्या भए पनि करिब ४५ जना उपचाररत रहेको अस्पताल प्रशासनले जनाएको छ । शय्या नहुँदा बिरामीको बरन्डामै उपचार भइरहेको छ । अस्पताल प्रमुख डा. रेमकुमार राईले हाललाई अक्सिजनको व्यवस्था भइदिए भुइँमै राखेर पनि उपचार गर्न सकिने बताए । ‘अक्सिजन नभएपछि बिरामीको अवस्था टुलुटुलु हेर्नेबाहेक विकल्प हुन्न,’ उनले भने ।

यसैबीच, अक्सिजन अभावमा बिरामीको मृत्यु बढेपछि टीकापुरमा अक्सिजन अभियान सञ्चालन गरिएको छ । टीकापुर सरोकार समूह, उद्योग वाणिज्य संघ, टीकापुर अस्पतालको संयुक्त प्रयासमा अभियान सुरु गरिएको हो ।

अस्पतालमा अक्सिजन सिलिन्डर व्यवस्था गर्ने अभियानअन्तर्गत करिब १० लाख रुपैयाँ संकलन भइसकेको टीकापुर सरोकार समूहले जनाएको छ । अभियानमा स्वस्फूर्त रूपमा सहयोग गर्नेहरूको संख्या बढ्दै गएको छ । इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख रामबहादुर कुरुम्बाङको प्रयासमा ७० वटा अक्सिजन सिलिन्डर प्राप्त भएको अस्पतालले जनाएको छ ।

आजको कान्तिपुर दैनिकमा

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.