Fast Nepal News

इन्धन पाइपलाइनमा ठूलो साइबर आक्रमणपछि अमेरिकामा आपत्काल घोषणा

banner single news

काठमाडौं, वैशाख २७

काठमाडौं, मुलुकको सबैभन्दा ठूलो इन्धन पाइपलाइनको आपूर्ति प्रणालीमा साइबर आक्रमण भएपछि अमेरिकामा आपत्काल घोषणा गरिएको छ । अमेरिकाको कोलोनियन पाइपलाइनमा साइबर आक्रमणकारीले आक्रमण गरेपछि अमेरिकी सरकारले आपत्काल घोषणा गरेको हो ।

कोलोनियन पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल तेल आपूर्ति हुन्छ । अमेरिकाको पूर्वी तटीय राज्यहरुमा यसै पाइपलाइनबाट डिजेल, ग्यास र जेट इन्धनको करिब ४५ प्रतिशत हिस्सा आपूर्ति हुन्छ । शुक्रबार साइबर आक्रमणकारीको एउटा समूहले आक्रमण गरेपछि पाइपलाइनको मर्मत सम्भार भइरहेको छ ।

आपत्काल घोषणापछि पाइपलाइनको साटो सडक मार्ग हुँदै इन्धनको आपूर्ति गरिने बताइएको छ । बीबीसीका अनुसार यसैका कारण सोमबार इन्धनको मूल्य २–३ प्रतिशत बढ्न सक्नेछ । यदि यसलाई छिटै मर्मत नगरिए यसको व्यापक असर निम्त्याउने पनि बताइएको छ ।

पाइपलाइनमा र्‍यान्समवेयर डार्कसाइड नामक एक साइबर अपराधीहरुको गिरोहले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले बताएका छन् । उक्त समूहले बिहीबार कोलोनियल नेटवर्कमा आक्रमण गरी करिब १०० जिबी डेटा आफ्नो कब्जामा लिएको थियो । त्यसपछि ह्याकरहरुले केही कम्प्युटर तथा सर्भरमा डेटालाई लक गरेका थिए ।

Inside Article Ads

उनीहरुले शुक्रबार अमेरिकी सरकारसँग फिरौती रकमसमेत मागेका थिए । पैसा नदिए आफूहरुको कब्जामा रहेको डेटा लिक गर्ने धम्की पनि उनीहरुले दिएका थिए । कम्पनीका अनुसार सेवा पुनः सञ्चालन गर्नका लागि प्रहरी, साइबर सुरक्षा विशेषज्ञ र ऊर्जा विभागको सहयोग लिइएको छ । कम्पनीले आइतबार आफ्नो मुख्य चार लाइन बन्द भएको र टर्मिनलबाट डेलिभरी प्वाइन्टसम्म जाने केही साना लाइनले भने काम गरेको बताएको थियो ।

लन्डनस्थित एक साइबर सुरक्षा कम्पनी डिजिटल स्याडोजले कोलोनियन पाइपलाइनमा आक्रमणको ठूलो कारण कोरोना महामारी हुन सक्ने बताएको छ । कोरोना महामारीका कारण कम्पनीका अधिकांश इन्जिनियरले घरको कम्प्युटरबाट काम गरेकाले पनि साइबर आक्रमण गर्न सहज भएको हुनसक्ने कम्पनीको आकलन छ ।

डिजिटल स्याडोजका सहसंस्थापक तथा चिफ इन्नोभेसन अफिसर जेम्स च्यापलले डार्कसाइडले टिमभ्युअर र माइक्रोसफ्ट रिमोट डेस्कटप सफ्टवेयरसँग जोडिएका एकाउन्ट लगिन डिटेल किनेको छ । उनका अनुसार जोसुकैले पनि शोडानजस्ता सर्च इन्जिनमा इन्टरनेटसँग जोडिएका कम्प्युटर लगिन पोर्टलका बारेमा जानकारी हासिल गर्न सक्नेछन् ।

त्यसपछि ह्याकरले युजरनेम र पासवर्डका माध्यमबाट लगिन गर्न प्रयास गर्नेछन् । च्यापलले हरेक दिन यस्ता नयाँ नयाँ समस्या साइबर सुरक्षामा देखिइरहेको र यो वैश्विक अर्थव्यवस्थाका लागि ठूलो समस्या बन्दै गएको बताए ।आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.