Fast Nepal News

सङ्क्रमित बिरामीका लागि शय्या अभाव

banner single news

बाँके – बैशाख १०

बाँके, जिल्लामा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविकरूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल भरिभराउ भएको छ । भेरी अस्पतालमा अहिले एउटा शय्या पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए । उनका अनुसार अस्पतालले कोरोना सङ्क्रमित बिरामी उपचारका लागि तयार गरिएको कोभिड वार्डका सबै १४२ शय्या भरिएका छन् । अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकाले आउँदा दिन अझै भयावह हुने सम्भावना बढेको छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पताल कोरोनाका बिरामीले भरिभराउ भएकाले अक्सिजनको मात्रा कम भएका बिरामीलाई समेत घर पठाउनुपर्ने बाध्यता रहेको बताए। उनले सङ्क्रमण रोकथाम र सङ्क्रमित गम्भीर प्रकृतिका बिरामीलाई उपचार व्यवस्था मिलाउन सबैले आ–आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे।

कोरोना सङ्क्रमित बिरामीको उपचार गर्दै आएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन डा आसिम किदवाइले अस्पतालमा शय्या अभाव भएकाले बिरामीलाई भर्ना गर्न नसकिने बताएका छन् । उहाँले अहिले पनि शिक्षण अस्पतालमा तीन गम्भीर प्रकृतिका बिरामीले आइसीयू शय्या पर्खेर बसेको जानकारी दिँदै कोभिडका बिरामी राख्ने वार्ड समयमै नबनाउँदा अहिले स्थिति नियन्त्रण बाहिर गएको उल्लेख गरे ।

Inside Article Ads

कोरोना सङ्क्रमित बिरामीको उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मी स्थिति नियन्त्रण बाहिर जाँदा चिन्तित छन् । भेरी अस्पतालका फिजिसियन डा खगेन्द्रजङ्ग शाहले अहिले लक्षणसहितका सङ्क्रमित त्यसमा पनि अक्सिजन चाहिनेहरु बढी रहेको बताउन्छन् । उनले परिवारका एक सदस्यलाई सङ्क्रमण पुष्टि भए अहिले प्राय सबैमा सङ्क्रमण देखिएको बताए ।

बाँकेका कोभिड सङ्क्रमण व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले निरन्तर सङ्क्रमितको सङ्ख्या बढिरहेकाले अस्पतालमा शय्या थप्ने र अक्सिजनको व्यवस्थापनमा सबैको ध्यान र सहयोग केन्द्रित गर्न जरुरी रहेको बताए । रासस

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.