Fast Nepal News

घटेन संक्रमण

banner single news

लुम्बिनी — ३२ श्रावण २०७८

लुम्बिनी, निषेधाज्ञा खुकुलो भएसँगै केही दिन स्थिर रहेको कोरोना संक्रमण अहिले लुम्बिनी प्रदेशमा पुनः उकालो लाग्दै गएको छ ।  पछिल्लो केही दिनयता रूपन्देहीलगायत पाल्पा, दाङ, गुल्मी, अर्घाखाँचीमा संक्रमित हुनेको संख्या बढिरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । २० आईसीयू बेड, १८ आकस्मिक कक्ष र ५१ मेडिकल वार्डका बेडमा बिरामी भरिएको कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताए । रूपन्देहीबाहेक अन्य जिल्लाका बिरामीको पनि यहाँ उपचार गरिने भएकाले बेड भरिनु स्वाभाविक भएको बताउँदै उनले यही लयमा संक्रमण दर बढे पहिलेजस्तै बेडको हाहाकार हुने अवस्था आउने बताए ।‘अक्सिजनका लागि त्यति समस्या नपर्ला । पूर्वाधारसहित सिलिन्डर पर्याप्त छन्,’ उनले भने, ‘बेड खाली नहुने तर बिरामी बाहिर छटपटिने अवस्था भने आउने संकेत छ ।’

हरेक बिरामीले निजी अस्पतालमा उपचार गर्ने स्थिति नहुने र सरकारी अस्पतालमा बेड नपाउँदा छट्पटिपर्ने एवं घर फर्किई मृत्युको मुख पर्खिने बाहेक विकल्प नरहने उनले जनाए । पुनः लकडाउन नभए चेन ब्रेक हुने सम्भावना नरहेको उनको दाबी छ ।दाङस्थित बेलझुण्डी अस्पतालमा कोरोनाका बिरामी दैनिक ३ देखि ४ जनाका दरले बढिरहेका छन् । यही रफ्तारले बढे अवस्था डरलाग्दो हुने फिजिसियन डा. कमल खड्काले बताए । जिल्लामा पहिले पनि कम संक्रमित छन् भन्दाभन्दै एक्कासि बढेकाले यसबारेमा ख्याल गर्न जरुरी रहेको उनले सुनाए । तथ्यांकमा बाँकेमा संक्रमण दर ह्वात्तै बढेको नदेखिए पनि बीचमा घटेको संख्या उकालो लागेको भेरी अस्पतालका फिजिसियन डा. राजन पाण्डेको भनाइ छ । उनले बीचमा १२ जनासम्म अस्पताल भर्ना भएकामा अहिले ४० पुगेको बताए ।

‘खोपको पहुँचमा कसरी सबैलाई पुर्‍याउन सकिन्छ भन्ने मुख्य विषय हो,’ उनले भने, ‘खोप लगाए कोरोना संक्रमण भए पनि मृत्युबाट जोगाउने भएकाले पनि अस्पताल वा होम आइसोलेसनमा बसेर निको नै हुने दर बढ्नेछ ।’ दोस्रो लहरबाट सिकेको पाठले मानिस स्वयंको सतर्कता मुख्य कुरा भएको भन्दै पाण्डेले अस्पतालका १ सय बेड अहिले पनि खाली रहेको र ती नभरिऊन् भन्नेमै आफूहरूले कामना गरिरहेको बताए ।गुल्मीमा आइतबार मात्रै ८६ संक्रमित थपिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । ५० वर्षभन्दा माथिको उमेर समूहकाले खोप लगाउन नपाउँदा पनि गुल्मीमा समस्या भइरहेको कार्यालय प्रमुख डा. भवानी शर्माले बताए । संक्रमण भइसकेपछि होम आइसोलेसनमा बस्ने बिरामीले स्वास्थ्य मापदण्ड नअपनाउने र घरपरिवारका सदस्य बाहिर हिंडडुल गर्दा संक्रमण फैलिरहेको उनले बताए । निषेधाज्ञा जारी रहँदा रहँदै पनि संक्रमित बढ्दै जानुले राम्रो संकेत नगरेको भन्दै उनले गम्भीर प्रकृतिका बिरामी भने कम रहेको जनाए ।

Inside Article Ads

आइतबार दिउँसोसम्म लुम्बिनी प्रदेशमा थप १ सय ४३ मा संक्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा धेरै रूपन्देहीमा ५६, गुल्मीमा ३६, अर्घाखाँची र दाङमा १३/१३, बाँकेमा ११ जना थप भएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका कोरोना फोकल पर्सन कौशल भण्डारीले बताए । उनका अनुसार अन्य जिल्लामा भने संक्रमितको संख्या १ देखि ५ को बीचमा रहेको छ । २४ घण्टाको बीचमा प्रदेशमा ३ संक्रमितको मृत्यु भएको छ । प्रदेशमा संक्रमण दर घटाउन वा संक्रमित भइसकेपछि बेडलगायतका समस्या नहोस् भनी पूर्वाधार निर्माणका काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताए । उनले नागरिककै चेतनाले कोरोना हट्ने र बढ्दै जाने भन्ने तय गर्ने भएकाले अपनाउनुपर्ने विधिमा हेलचेक्र्याइँ नगर्न सुझाए ।

(कान्तिपुर दैनिक)

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.