काठमाडौँ — २९ श्रावण २०७८
काठमाडौँ, अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले रोग प्रतिरोधी क्षमता कम भएकाहरूलाई कोरोनाविरुद्ध फाइजर-बयोएनटेक र मोडर्नाले उत्पादन गरेका खोपको तेस्रो डोज लगाउन अनुमति दिएको छ । एफडीएको यो घोषणासँगै अब चिकित्सकहरूले दुई डोज खोप लगाएर पनि कोरोनाविरुद्ध प्रतिरोधी क्षमता विकास नभएका बिरामीलाई तेस्रो डोज लगाउनका लागि सिफारिस गर्न सक्नेछन् ।हालसम्म पनि दुवै खोपलाई आपत्कालीन प्रयोग अनुमति मात्रै दिएको अमेरिकाको एफडीएले पहिलाको व्यवस्थामा केही अपडेट गरेपछि अंग प्रत्यारोपण गरेकाहरूले समेत तेस्रो मात्रा लगाउन पाउने भएका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीएस) को सल्लाहकार समितिमा तेस्रो डोज लगाउन अनुमति दिने या नदिने भनेर छलफल तथा मतदान हुनु एक दिनपूर्व नै एफडीएले अनुमति दिएको हो । सीडीसीले पनि तेस्रो डोज लगाउनका लागि अनुमति दिने आँकलन भइरहेको छ ।