Fast Nepal News

कर्णालीमा फेरि बढ्यो संक्रमण

banner single news

वीरेन्द्रनगर — २७ श्रावण २०७८

वीरेन्द्रनगर , कर्णालीमा फेरि कोरोना संक्रमण दर बढेको छ । कर्णालीमा साउन १ गतेदेखि साउन २५ गतेसम्म ७ सय ८२ संक्रमित फेला परेका छन् । मंगलबारसम्म प्रदेशका विभिन्न आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ९ सय २६ छ ।पछिल्लो दुई सातामात्रै कर्णाली प्रदेशभरि ५ सय ९४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार साउनमा ११ संक्रमितको मृत्यु भएको छ । प्रदेशमा संक्रमण दर ६५ प्रतिशत पुगेको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले बताए । उनका अनुसार निषेधाज्ञा खुकुलो हुँदा भीडभाड भएपछि संक्रमण बढेको हो ।

निर्देशनालयले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्दै गएपछि उपचारका लागि प्रदेशका तीनवटा अवस्थामा भाइरस संक्रमणको वर्गीकरण गर्ने व्यवस्था मिलाएको छ । उपचारलाई सहज बनाउन भन्दै संक्रमितको स्वास्थ्य अवस्थाअनुसार सामान्य, मध्यम र जटिल अवस्था वर्गीकरण गरी त्यसकै आधारमा समुदाय, जिल्ला तहका अस्पताल र प्रदेश अस्पतालमा उपचारको प्रबन्ध गरिएको सूचना अधिकारी चौधरीले बताए ।

बालबालिकाका लागि सजग

कोरोनाको तेस्रो लहरले बालबालिका बढी जोखिममा पर्ने सम्भावना देखेपछि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले विशेष तयारी अपनाएको छ । निर्देशनालयका अनुसार कर्णालीमा हालसम्म २० वर्षमुनिका १८ प्रतिशत बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।प्रदेशमा अहिलेसम्म ३१ हजार १ सय जनामा संक्रमण देखिएकामा ८० प्रतिशत संक्रमित भने २० वर्षमाथिका छन् । पहिलो लहरको तुलनामा दोस्रोमा बढी बालबालिका संक्रमित देखिएको निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए । उनका अनुसार पहिलो लहरभन्दा दोस्रो लहरमा यो उमेर समूहमा देखिएको संक्रमण १४ प्रतिशतले बढी छ । उनले गत वर्ष पहिलो लहरमा कर्णालीमा ४ प्रतिशत मात्रै बालबालिका कोभिड संक्रमित भएको जानकारी दिए । त्यो संख्या बढेर अहिले ५ हजार ५ सय ५६ (१८ प्रतिशत) पुगेको छ ।

Inside Article Ads

संक्रमणको जोखिम भएपछि सबै जिल्ला अस्पतालमा २० प्रतिशत बेड छुट्याएको निर्देशनालयले जनाएको छ । ‘बालबालिकाका लागि उपचारमा आवश्यक पर्ने स्वास्थ्य उपकरण र जनशक्तिको समेत व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘प्रदेश सरकारले चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयरको लागि तालिम दिने तयारी गरेको छ ।’

बालबालिकालाई सामान्य रुघाखोकी र ज्वरो आएको अवस्थामा होम आइसोलेसन तथा समुदायस्तरमै उपचार गर्ने तयारी निर्देशनालयको छ । कडा खालको ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिए जिल्ला तहका अस्पतालमा र जटिल खालको संक्रमणको लक्षण भएकालाई प्रदेश अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ । अहिले प्रदेशभरि बालबालिकाको उपचारका लागि १९ आईसीयू बेड छन् । प्रदेश अस्पतालमा बालबालिकाका लागि ८ बेडको पीआईसीयूको व्यवस्था गरिएको छ ।कर्णाली प्रदेश अस्पतालका बाल रोग विशेषज्ञ डा. नवराज केसीले बालबालिकामा संक्रमण दर बढ्ने आकलन गरिए पनि वैज्ञानिक आधार भने नभएको बताए । ‘आधार छैन भन्दैमा पूर्वतयारी नै नगर्ने भन्ने त होइन,’ उनले भने, ‘तर जोखिम बढ्ने भन्दै त्रसित नभएर सजगता भने अपनाउन आवश्यक छ ।’ कर्णालीमा हालसम्म कुल ३० हजार ८ सय ६९ जना कोरोना संक्रमित फेला परेकामा ३ सय ५६ जनाको मृत्यु भएको छ । संक्रमणबाट २८ हजार ६ सय २९ जना निको भएका छन् ।

(कान्तिपुर दैनिक)

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.