Fast Nepal News

मास्क न भौतिक दूरी

banner single news

रौतहट — २४ श्रावण  २०७८

रौतहट, कोरोनाको दोस्रो लहर सुरु भएपछि रौतहटमा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइयो । त्यसयता निषेधाज्ञा निरन्तर भए पनि संक्रमण घट्न सकेको छैन । पछिल्लो समय निषेधाज्ञा खुकुलो भएपछि मुख्यबजार र व्यापारिक केन्द्रमा मानिसको चहलपहल बढेको छ । तर स्वास्थ्य मापदण्ड भने कमैले अपनाएका छन् । धेरैजसोले मास्क लगाएका हुँदैनन् । भौतिक दूरीको पनि ख्याल गरिएको छैन । चन्द्रनिगाहपुर, गरुडा, गौरका बजारमा किनमेल गर्नेको सधैंजसो भीड हुन्छ । तर, सतर्कता अपनाएको पाइँदैन । पसल सञ्चालकहरूसमेत मास्क लगाउन आनाकानी गर्छन् ।

गौर–चन्द्रनिगाहपुर चल्ने सार्वजनिक यातायातमा पनि स्वास्थ्य मापदण्ड लागू भएको पाइँदैन । कोचाकोच गरेर यात्रु राख्ने गरिएको छ । जिल्लाबाट छुट्ने मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीको अवस्था पनि उस्तै छ । मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग हुन सकेको छैन । सचेतना फैलाउनुपर्ने राजनीतिक दल, संस्था तथा पालिकाहरूले समेत भीडभाड गराएर कार्यक्रमहरू गर्न छोडेका छैनन् । दलहरूले सभासमारोह र जुलुसलाई निरन्तरता दिइरहेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार हालसम्म रौतहटमा १ हजार १ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । तीन साता यता ४८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो समय जिल्लाभरि ज्वरोका बिरामी बढेका छन् । तर उनीहरू पीसीआर परीक्षण गराउन नमान्ने स्वास्थ्य कार्यालयको भनाइ छ ।

Inside Article Ads

कार्यालयका अनुसार अहिले परीक्षण पनि घटेको छ । चन्द्रपुर अस्पतालका चिकित्सक सुभाष चौधरी निषेधाज्ञा खुकुलो भएकाले संक्रमण बढेको बताउँछन् । ‘अब स्वास्थ्य मापदण्डमा कडाइ गर्नुपर्छ,’ उनले भने, ‘योबाहेक अर्को विकल्प छैन । मानिसहरू लापरबाही गर्न लागे । यत्रो विपत्ति हुँदा पनि कोरोना केही होइन भन्ने सोच्न थाले ।’प्रशासनले पनि मास्क लगाउन कडाइ गर्न थालेको छ । तर बाटो हिँड्नेहरू सुरक्षाकर्मर्लीे जबरजस्ती दिएको मास्क लगाएजस्तै गर्छन् र पर पुगेपछि फेरि हटाउँछन् । यसबीचमा शनिबार गौरको बीपी चोकमा ‘तपाईंको मास्क खै ?’ अभियान सुरु गरिएको छ । अब मास्क नलगाउनेलाई नगद जरिवाना गराउने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

(कान्तिपुर दैनिक)

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.