Fast Nepal News

निम्न वर्गलाई खोप पाउनै गाह्रो

banner single news

मोरङ — २२ श्रावण  २०७८

मोरङ, कोरोनाविरुद्धको खोपमा निमुखा वर्गको पहुँच हुन नपाएको भन्दै प्रदेश १ का सांसदहरूले टाठाबाठाले मात्रै लगाएको बताएका छन् । प्रदेशसभामा सांसदहरूले जान्ने, बुझ्ने, टाठाबाठाहरूले अगाडि गएर खोप लगाउने गरेकाले तल्लो वर्गले लगाउन नपाएको बताएका हुन् ।प्रदेशसभामा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता राजीव कोइरालाले प्रदेश सरकारले उमेर समूह तोकेर कोरोनाविरुद्धको खोप लगाइरहे पनि सबै वर्गका सर्वसाधारणले खोप नपाइरहेको बताएका हुन् । ‘केन्द्रमा भारीका भारी खोप आएको सञ्चारमाध्यमबाट सुनिन्छ तर अहिले पनि वृद्धवृद्धाहरूले खोप नपाएको भन्दै गुनासो गर्दै आउने गर्नुभएको छ,’ उनले भने, ‘प्रदेशमा कति प्रकारका खोप भित्रिए, कति जनाले लगाए र बाँकी रहेका कति जनाले कहिलेसम्ममा खोप लगाउन पाउँछन् ?’ यसबारे सदनमा जानकारी गराउन कोइरालाले प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

सांसद ज्योति सुब्बाले जनचेतना अभावले कतिपय स्थानीय तहका गरिब, विपन्न समुदायले खोप लगाउन नपाएको बताइन् । ‘जनचेतना अभावमा तल्लो वर्गका जनताले खोप लगाउन पाएका छैनन् भने जान्ने, बुझ्ने, टाठाबाठाहरूले धमाधम खोप लगाइरहेका छन्,’ उनले भनिन्, ‘तल्लो तहका निमुखा वर्गमा जनचेतना जगाएर सबैलाई खोप लगाउने वातावरण बनाउनु आवश्यक छ ।’राप्रपाकी सांसद इन्दिरा राईले कोरोनाविरुद्धको खोप अनियन्त्रित र अपारदर्शी ढंगले लगाइरहेकाले तोकिएका उमेर समूहका सर्वसाधारणले लगाउन नपाएको बताइन् । पहिलो डोज खोप लगाएका व्यक्तिहरूले दोस्रो डोज लगाउन नपाएकाले उनीहरूका लागि दोस्रो डोज तत्काल लगाउने व्यवस्था गर्न राईले प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।

Inside Article Ads

प्रदेश १ मा हालसम्ममा कोभिसिल्ड ४ लाख ५९ हजार र भेरोसेल ५ लाख १८ हजार १ सय २० डोज खोप आएको प्रदेश आपूर्ति केन्द्रका चन्द्रकान्त ठाकुरले बताए । उनले जोन्सन एन्ड जोन्सन कम्पनीको एक मात्रा खोप जान्सेन २ लाख ४० हजार आएको बताए । प्रदेश १ मा हालसम्ममा १ लाख ८० हजार ९७ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकृत उदय श्रेष्ठले बताए ।‘कोभिसिल्ड दुवै डोज ५२ हजार ८ सय ५५, पहिलो डोज ३ लाख ६२ हजार १ सय १ जनाले लगाएका छन्,’ उनले भने, ‘भेरोसेल दुवै डोज ६६ हजार ३ सय ३९ र पहिलो डोज ३ लाख २८ हजार ३ सय २३ जनाले लगाएका छन् भने जोन्सन एन्ड जोन्सनको ६० हजार ९ सय ३ जनाले लगाएका हुन् ।’ 

(कान्तिपुर दैनिक)

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.