Fast Nepal News

निषेधाज्ञाको निहुँमा मनपरी भाडा

banner single news

कालीकोट — २० श्रावण  २०७८

कालीकोट, पलाता गाउँपालिका–१ खाडा धौलागोहका मनरूप न्यौपाने आइतबार सदरमुकाम मान्म जान घाटपारी चौरबाट जितेसम्मको यात्रुवाहक जिपमा चढे । उनलाई सुरुमा थिर्पु पुल नजिकै टिकट काटिन्छ भनिए पनि पछि टिकट दिइएन । तर चौरबाट जितेसम्मको ९ सिटे जिपमा १२ यात्रु खाँदेर चढाएपछि गाडीको सहचालकले जारकोट नपुग्दै ८ सय रुपैयाँका दरले भाडा उठाउन थाले ।

स्थानीय प्रशासनले वैशाखदेखि जारी गरेको निषेधाज्ञाको आदेश अझै कायम छ । भाडा बढी भएको सुनाउँदा बीच बाटोमै झर्न भनेको न्यौपानेले गुनासो गरे । ‘टिकट माग्दा गाडीमै पाइन्छ भनेर दिएनन्,’ उनले भने, ‘कोचाकोच गर्दै आए पनि भाडा महँगो दिए ।’ पलाता–८ स्थित वडा कार्यालयमा कार्यरत प्राविधिक वसन्त बमले पनि कर्णाली करिडोरको चौरबाट जितेसम्मको भाडा ८ सय रुपैयाँ तिरेर मान्म आएको बताए । ‘गाडी भाडामा मनपरी छ,’ उनले भने ‘नियमन गर्ने कुनै निकाय नभएजस्तो भयो, जसले जति ठगे पनि हुने ।’ उनका अनुसार जितेदेखि घाटपारी चौरसम्म जम्मा ३० किमि सडकमा लकडाउनअघिसम्म ३ सय रुपैयाँ भाडा दर भएकामा गत वर्षको लकडाउनमा ५ सय र यस वर्ष ८ सय रुपैयाँ बनाउँदा स्थानीय मर्कार्मा परेका छन् ।

Inside Article Ads

सेनाले निर्माण गरेर गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरिएको कर्णाली करिडोरमा यात्रुवाहक गाडीले मात्र नभएर मालवाहक मिनी टाटा र ट्याक्टरले पनि मनपरी ढुवानी भाडा असुल्ने गरेको रास्कोटमा व्यवसायी नमराज विश्वकर्माले बताए । ‘गाडी भाडा जसले जति भने पनि हुने अवस्था छ,’ उनले भने ‘तर हाम्रो गुनासो कतै सुनुवाइ हुँदैन ।’ उनले स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासन सबै मूकदर्शक बनेको गुनासो पोखे ।कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक खण्डमा पनि गाडी भाडामा एकरूपता छैन । भाडामा मनपरी भएको भन्नेबारे गुनासो सुनिए पनि आधिकारिक रूपमा जानकारी नआएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

(कान्तिपुर दैनिक)

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.