Fast Nepal News

नौ घण्टा निरन्तर खोप

banner single news

ताप्लेजुङ — १८ श्रावण  २०७८

ताप्लेजुङ, मुहारमा मास्क र फेससिल्ड । शरीरमा पीपीई अनि हातमा पन्जा । ताप्लेजुङस्थित फुङलिङ नगरपालिकाको स्वास्थ्य शाखाकी वरिष्ठ अहेव लक्ष्मी मावो बनेम आजकल यस्तै परिधानमा भेटिन्छिन् । जसले गत बिहीबार एकै दिन ९ सय ४० जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइदिइन् । बिहान ९:३० बजे खोप लगाउन सुरु गरेकी बनेमका हात ६ः१५ बजेसम्म रोकिएनन्, न उद्योग वाणिज्य संघको भवनमा पाखुरा अघि सार्दै खोप लगाइमाग्न आउनेको लाम रोकियो । बिहान खाना खाएर खोप लगाउन थालेकी बनेम साँझ मात्र खोप केन्द्रबाट बाहिर निस्किइन् । दिनभरि भोक, तिर्खा नभनी खटिइरहिन् । तर यति गर्दा पनि उनले २०५८ सालमा आफैंले बनाएको रेकर्ड भने तोड्न सकिनन् । त्यतिखेर उनले दादुरा रुबेलाको खोप एकै दिन १ हजार ६४ जनालाई लगाएकी थिइन् ।

२०४६ कात्तिक १६ गते जागिरमा प्रवेश गरेदेखि खोप लगाउन थालेकी उनी आफ्नो काममा पोख्त छिन् । सुई घोच्दा साह्रै दुख्छ होला भनेर अनुहार निन्याउरो बनाउनेलाई उनले ‘लगाइसकियो अब उठ्नुहोस्’ भन्दा कतिपय छक्क पर्ने गरेका छन् । ‘नानीको हात त हलुंगो रहेछ,’ खोप लगाउन आएका कतिपयले भन्छन् । केहीले त खोप नै लगाइदिइनन् कि भनेर शंका गर्ने गरेका पनि बनेम सुनाउँछिन् । ‘दुख्छ भनेर डरले टाउको लुकाएर बस्छन्, सिरिन्जले घोचेको पत्तै पाउँदैनन् । उठ्नु भनेपछि छक्क पर्छन्,’ लक्ष्मीले अनुभव सुनाइन् । फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेलले पनि खोप लगाउनुअघि ‘नदुखाई लगाउनु है’ भन्दै थिए । तर उनले पनि खोप लगाएको थाहै नपाइएको भन्दै बाहिरिए ।

नगरपालिकाको स्वास्थ्य शाखाकी मञ्जु गुरुङका अनुसार खोप लगाउँदा उनको सहयोगका लागि एक जना छेउमा राखिन्छ । उनले प्लास्टिकबाट खोलेर सिरिन्ज, भायल र रुवा दिन्छन् । सिरिन्ज भर्ने, सेवाग्राहीलाई खोप लगाइदिने र हातले रुवा थमाइदिएर सिरिन्ज र भायल डस्टबिनमा राख्ने काम लक्ष्मी आफैं गर्छिन् । सेवाग्राहीलाई कुर्सीमा राखेर उनी आफू भने उभिएरै खोप लगाउँछिन् । पाखुरामा लगाउनुपर्ने भएकाले कसैले कपडा खोल्न ढिला गरे उनी पर्खेर भने बस्दिनन् । अर्कोलाई बोलाएर लगाइदिहाल्छिन् ।

सबै प्रक्रिया मिले पहिलाको भन्दा अहिलेको खोप लगाउन सजिलो हुने लक्ष्मीको बुझाइ छ । ‘बीसीजी र दादुराको खोप लगाउँदा पानी र पाउडर छुट्टाछुट्टै आउँथ्यो, त्यसलाई घोल्नुपर्थ्यो र घोलेको ६ घण्टामा लगाइसक्नुपर्थ्यो,’ लक्ष्मीले थपिन्, ‘अहिलेको त बट्टा खोलेर सिरिन्जमा मात्रा मिलाउँदै लगाइदिँदा भइहाल्छ नि !’ अझ जापानी इन्सेफ्लाइटिसको खोप थालेको एक घण्टामा लगाइसक्नुपर्थ्यो । त्यही भएर पहिला मान्छे भेला पारिसक्ने र त्यसपछि मात्रै लगाउने गरेको उनले सुनाइन् । तर यही कुरा बुझाउन नसक्दा कतिपय भने खोप केन्द्रमा पुगेर पर्खायो भनेर रिसाउने गरेका थिए ।

Inside Article Ads
खोप लगाउन आएकाहरू हतारिनु, पहिले लगाउन खोज्नु भने स्वाभाविक नै लाग्छ बनेमलाई । तर पालो मिच्न नदिई लगाइदिँदा विवाद नहुने उनको अनुभव छ । कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्दा भने जिल्लामा चाप निकै कम थियो । असार २५ र २६ गते उनले ४ सय ९१ जनालाई खोप दिइन् । बिहीबार भने खोप लगाउने मानिसको संख्या बढेपछि तथ्यांक राख्न र कार्ड बनाउन ६ जना कर्मचारी खटिएका थिए ।

पहिल्यैदेखि एक्लैले लगाउने र भ्याउने भएकाले अर्को मान्छे प्रयोग नगरेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राजकुमार पोख्रेल बताउँछन् । ‘खोप लगाउने स्वास्थ्यकर्मी त अरू पनि छन्,’ राजकुमारले भने, ‘म गलें, मलाई पालो चाहियो भन्नु हुन्न, थालेपछि सकेरै छोड्न खोज्नु हुन्छ, त्यही भएर अर्को मान्छे नखटाएका हौं ।’दिनभरि उभिएर खोप लगाउँदा पनि हातखुट्टा गल्ने, शरीर दुख्ने जस्तो अनुभव नभएको बनेमको भनाइ छ । ‘बानी नै भइसक्यो, बेलुका हल्का थाके जस्तोचाहिँ हुन्छ । तर खासै वास्ता हुँदैन,’ उनले भनिन् । उनको कामको मूल्यांकन गर्दै नगरपालिकाले असार १० गते नगदसहित सम्मानसमेत गरिसकेको छ ।

(कान्तिपुर दैनिक)

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.