
ताप्लेजुङ — १७ श्रावण २०७८
ताप्लेजुङ, जिल्ला अस्पतालको भवनसँग जोडेर बनाइएको कोभिड उपचार केन्द्रलाई प्लाइउडको बारबेरमा जस्ता पाताले छाएर बनाइएको छ । १० शय्याको उक्त अस्पताल तीन महिनायता बिरामीले भरिएको छ । साउनयता यहाँको शय्याले नपुगेपछि कोरोनाका बिरामीलाई जनरल वार्डमा पनि राखिएको छ ।जिल्ला अस्पताल ताप्लेजुङको कोभिड उपचार केन्द्रमा उपचाररत बिरामी । केन्द्रलाई जस्तापाता र प्लाइउडले बारिएको छ ।संक्रमितका लागि बनाइएको केन्द्रमा घामलागे जस्तापाता तात्तिने र पानी परे जस्तापाता चुहिने र थर्किने भएकाले बिरामीले सास्ती पाइरहेका छन् । साउनयता यही भवनमा पनि नअटाएपछि संक्रमित र अरू बिरामीलाई भुइँमा समेत राखेर उपचार गरिँदै छ ।
अस्पतालका प्रमुख डाक्टर सोनिम लामा ठाउँ नभएर यसरी राख्न बाध्य भएको बताउँछन् । तर अस्पताल परिसरभित्रै रहेका सुविधासम्पन्न भवन रहे पनि बिरामीका लागि उपयोग गरिएको छैन । अस्पताल परिसरमा जिल्ला स्वास्थ्य कार्यालयको गोदामको एकतले, नेपाल नेत्रज्योति संघको दुईतले र स्वयं अस्पतालको प्रशासनिक भवन छ । स्वास्थ्य कार्यालयका कर्मचारीको सरकारी निवास पनि छ । अस्पताल परिसर ठीक बाहिर नेपाल रेडक्रस सोसाइटीका दुईवटा भवन छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनका अनुसार नेत्रज्योति संघको भवनको एक तला खाली छ । यहाँ शौचालयसमेत रहेकाले बिरामी राख्न उपयुक्त छ ।
डाक्टर लामाका अनुसार स्वास्थ्य कार्यालयको गोदाम पनि बिरामी राख्न उपयुक्त छ । परिसर बाहिर रहेको रेडक्रसको भवन पनि खाली छन । नेत्रज्योति संघका सचिव खगेन्द्र अधिकारीले दोभान र पाँचथरको कुम्यायकमा राख्ने स्वास्थ्यकर्मीर्को तालिम चलिरहेकाले डेढ/दुई महिना खाली नहुने बताए । स्वास्थ्य कार्यालयका हेमराज कठायतले जनस्वास्थ्य अधिकृत बिदामा भएको र गोदामको चाबी नभएकाले आफूले जिम्मा लिन नसक्ने बताए । रेडक्रसका मन्त्री विकास गौतम रेडक्रसको भवन चिसो ठाउँमा रहेको बताउँछन् ।बिरामी राख्ने ठाउँ नभएपछि र चाप दिनानुदिन बढेपछि जिल्ला अस्पतालले मंगलबार गरेको सर्वपक्षीय छलफलपछि सरोकारवाला निकाय तर्किएका हुन् । छलफलमा सहभागी कांग्रेस सभापति लीलादेवी बोखिमले भने स्वास्थ्य कार्यालयको गोदाम र नेत्रज्योति संघको पहिलो तला तत्काल खाली गराएर बिरामी राख्नुपर्ने तर्क गरिन् ।
जिल्ला अस्पतालको १० शय्याको उपचार केन्द्रमा १९ जना संक्रमित बिरामी छन् । अस्पतालमै गरिएको एन्टिजेन परीक्षणमा मंगलबार फेरि २६ जना थपिएका छन् । १५ शय्याको अस्पतालमा ३५ शय्या हालिएको छ । तर बिरामी भने ५० जनाभन्दा माथि रहेको लामाले बताए ।‘अलिक सुधार देखिए र समस्या भए फेरि आउनु भनेर डिस्चार्ज गर्ने र भर्ना गर्नुपर्नेलाई थपिरहेका छौं,’ लामाले भने । मंगलबार बेलुकासम्म जिल्लामा ३ सय ७३ जना संक्रमित रहेका छन् । प्रशासन कार्यालयका अनुसार ३ सय ५ जना होम आइसोलेसनमा छन् । कोरोनाले अहिलेसम्म १४ जनाको ज्यान गइसकेको छ ।
(कान्तिपुर दैनिक)
