Fast Nepal News

नाम मात्रको निषेधाज्ञा

banner single news

नेपालगन्ज — १७ श्रावण  २०७८

नेपालगन्ज, बजारभरि चहलपहल बाक्लो छ । चोक–चोकमा भीडभाड उस्तै छ । मास्क लगाउन छाडिएको छ । भौतिक दूरी कतै देखिँदैन । प्रहरीको निगरानी पनि कतै भेटिँदैन । बाँकेमा लगाइएको निषेधाज्ञाको पूर्ण पालना नहुँदा कोरोना संक्रमण वृद्धि हुने चिन्ता बढेको छ । बाँकेमा शुक्रबार गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ । अहिले तुलनात्मक रूपमा संक्रमितको संख्या धेरै देखिएको भेरी अस्पतालका फिजिसियन एवं कोरोना फोकल पर्सन डा. संकेत रिसालले बताए । ‘निषेधाज्ञा अहिले पनि जारी छ तर कार्यान्वयन फितलो छ,’ उनले भने ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा फिजिसियन डा. राजन पाण्डेले बाँकेमा संक्रमण कम भए पनि नियन्त्रणमा नआएको बताए । ‘हालको अवस्था हेर्दा स्थिति नियन्त्रणबाहिर जान सक्ने देखिरहेका छौं,’ उनले भने, ‘फेरि संक्रमण समुदायमा फैलिन सक्ने खतरा छ ।’ प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबारदेखि थप एक साता स्मार्ट लकडाउनलाई निरन्तरता दिइएको बताए ।

स्थानीय प्रशासनले अहिलेसम्म निश्चित मिति तोकेर निषेधाज्ञा लम्ब्याउँदै आएको थियो । यसपालि भने मिति तोकिएको छैन । नेपालगन्जमा वैशाख ९ गतेदेखि र जिल्लाभरि वैशाख १३ गतेदेखि लगाइएको निषेधाज्ञा जारी छ । संक्रमण घटेपछि यस क्षेत्रकै ठूलो निजी शिक्षण अस्पताल नेपालगन्जले कोरोना वार्ड बन्द गरेको छ । तर यस क्षेत्रकै ठूलो सरकारी भेरी अस्पताल नेपालगन्ज भने तेस्रो भेरिएन्ट आउन सक्ने भन्दै तयारीमा जुटेको छ ।

Inside Article Ads

‘सरकारले नै सम्भावित तेस्रो लहरको पूर्वतयारीका लागि आवश्यक निर्देशन दिएकाले सोहीअनुसार काम भइरहेको छ,’ भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले भने, ‘कम्तीमा २० बेडको बालकेन्द्रित आईसीयू निर्माण कार्य अन्तिममा पुगेको छ ।’ सँगसँगै त्यसका लागि आवश्यक जनशक्ति र उपकरणका लागि पनि अस्पतालले पहल गरिरहेको जनाएको छ ।

‘आवश्यक सावधानी नपअनाएर संक्रमण कुन बेला अर्को रूप लिन्छ भन्न सक्ने अवस्था छैन,’ भेरी अस्पतालका प्रमुख डा. थापाले भने, ‘कोरोना संक्रमण न्यूनीकरण भएको हो, नियन्त्रण होइन ।’ यस्तो अवस्थामा आवश्यक स्वास्थ्य सतर्कता र स्वास्थ्य मापदण्ड पालनामा सबै पक्ष गम्भीर भइदिए मात्रै विगतको जस्तो विडम्बना नआउने डा. थापाको भनाइ छ । (कान्तिपुर दैनिक)

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.