जनकपुर — १४ श्रावण २०७८
जनकपुर , निर्माणाधीन पक्की घरको खुला कोठामा मंगलबार ६ वर्षीया सकिता मण्डल नेपाली विषय अभ्यास गर्दै थिइन् । सँगै थिए, १० वर्षीय अन्दारुल राइन । एउटै कक्षाकोठामा भुइँमा पलेटी कसेर अरू चार बालबालिका पनि अभ्यास गर्न व्यस्त थिए ।उनीहरूलाई सहयोग गर्दै थिइन्, शिक्षिका पूजा गुप्ता । मास्क लगाएका उनीहरू भौतिक दूरी कायम गरेरै कक्षाकोठामा बसेका थिए । बरन्डामा खानेपानी र सेनिटाइजर राखिएको छ । सबैलाई हात सेनिटाइज गरेर मात्र कक्षाकोठाभित्र प्रवेश गर्ने नियम छ । धनुषाको पूर्वोत्तर सबैला नगरपालिका–८ ठिल्ला जदुवामा मध्याह्नको कक्षा सञ्चालन भइरहेको उक्त घरभन्दा १ सय ५० मिटर दक्षिणमा पनि यस्तै अनौपचारिक कक्षा सञ्चालित थियो । जसमा मुस्लिम समुदायका बालबालिका मात्र अध्ययनरत थिए । मुस्लिम बालबालिका आफ्नो धार्मिक पुस्तकसँगै नेपाली, गणित, विज्ञानजस्ता विषयको पनि अभ्यास गर्दै थिए । सहयोगीको भूमिकामा थिए, स्थानीय मदरसा दारुल होदाका मोलवी (शिक्षक) मोहम्मद सहजाद आलम ।
पालिकामा अनौपचारिक कक्षा सञ्चालन गर्न आसमान नेपालले बालबालिकाको अध्ययन/अध्यापनमा सहजीकरण गर्न १ सय ५ स्वयंसेवक, १० जना बिग सिस्टर (ठूल्दिदी), ५ जना सामाजिक परिचालक तथा एक जना पालिका संयोजक नियुक्त गरेको छ । आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवले भने, ‘समाजलाई बालश्रममुक्त बनाउने हाम्रो उद्देश्य हो । यसका लागि शतप्रतिशत बालबालिका विद्यालयमा हुनुपर्छ । यही उद्देश्य लिएर सबैलासँगै धनुषाका चार पालिकामा अनौपचारिक शिक्षा प्रारम्भ गरेका हौं ।’
कोभिड–१९ को कारण सामुदायिक विद्यालय बन्द रहेको तथा कोभिड प्रोटोकलअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने अवस्थामा पनि आसमानले धनुषाका सबैला, नगराइन, गणेशमान चारनाथ नगरपालिका तथा लक्ष्मीनिया गाउँपालिकामा बालबालिकाको जन्मदर्ता, विद्यालय भर्ना, पठनपाठन, स्वास्थ्य, खानेपानी, खेलकुद गतिविधि चलाएको छ । यस्तै बालविवाह र दाइजो प्रथाविरुद्ध अभियान पनि सञ्चालन गरेको छ ।
‘संघीय सरकारको प्रोटोकलका कारण सामुदायिक विद्यालयहरूमा चाहेर पनि गतिविधि सञ्चालन गर्न सकिएको छैन । अन्य शैक्षिक गतिविधिहरू पनि प्रभावित हुने अवस्था छ,’ सबैलाका प्रमुख विजयशंकर साहले भने । सबैला–८ ठिल्लास्थित सरस्वती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नथुनी साहले भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि विद्यालय भर्ना, अनलाइन कक्षा नियमित भइरहेको बताए ।
(कान्तिपुर दैनिक)