Fast Nepal News

रेशमको सजाय माफी निवेदन राष्ट्रपति कार्यालयमा

राष्ट्रपति कार्यालयको राय लिएपछि गृह मन्त्रालयले सजाय माफी प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने, मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट निर्णय हुने

banner single news

१२ जेठ, काठमाडौँ — टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी माग गरिएको निवेदन राष्ट्रपति कार्यालय पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली चौधरीको निवेदन लिएर बुधबार राष्ट्रपति कार्यालय पुगेको थियो ।

त्यस क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग गणतन्त्र दिवसका दिन सजाय माफी दिने प्रक्रियाबारे छलफल भएको थियो ।

राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले चौधरीको निवेदनमा अध्ययन भइरहेको जानकारी दिए । ‘अदालतको फैसला निकै मोटो छ, समय लाग्छ,’ उनले भने । राष्ट्रपति कार्यालयको राय लिएपछि गृह मन्त्रालयले सजाय माफीको प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछ । मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिले आममाफी दिने निर्णय लिनेछन् । चौधरीले माफी पाए करिब १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।

संविधानको मस्यौदामा उल्लेख गरिएका विषयवस्तुको विरोधमा २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत भएको थियो । घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हबलदार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरी वरिष्ठ हबलदार ललित साउद, सहायक हबलदार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी तथा डेढ वर्षीय बालक टेकबहादुर साउदको ज्यान गएको थियो ।

उक्त घटनाको योजनाकारका रूपमा चौधरीलाई अभियोजन गरिएको थियो । ५८ जनाविरुद्ध अभियोजन गरिएकामा ३१ जना अझै फरार छन् । पक्राउ परेका २७ जनाविरुद्ध मुद्दा चलाइएको थियो ।

कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले चौधरीलाई जन्मकैद (२० वर्ष) हुने फैसला गरेका थिए । उक्त फैसलालाई सर्वोच्च अदालतले जेठ ३ मा सदर गरेको छ । जन्मकैदको सजाय पाएका चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर स्थापना गरेको नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ । श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथ गरिबी निवारणमन्त्री छिन् । सत्ता–गणितमा महत्त्वपूर्ण बनेको नागरिक उन्मुक्ति पार्टीले सदन र सत्ताबाट बार्गेनिङ गरेका कारण सरकारले चौधरीको सजाय माफी प्रक्रिया अघि बढाएको हो ।

Inside Article Ads

नागरिक उन्मुक्ति पार्टीले गठन भएदेखि नै चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाउँदै आएको थियो । चौधरीलाई जन्मकैदको फैसला सर्वोच्च अदालतबाट सदर भएलगत्तै उक्त पार्टीले गिरीशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्नॅपर्ने भन्दै आन्दोलनको घोषणा गरेको थियो । सरकारबाट रिहाइको अनौपचारिक आश्वासन पाएपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको छ ।

संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुलतबी, परिवर्तन वा कम गर्न सक्ने उल्लेख छ । त्यस्तै, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५९ ले अदालतको फैसलाबमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुलतबी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई निवेदन दिन सक्ने व्यवस्था छ । त्यही व्यवस्थाका आधारमा सरकारले चौधरीलाई सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो ।

चौधरी ‘फरार’ अवस्थामै २०७४ को चुनावमा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले २०७४ फागुन १४ मा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.