Fast Nepal News

शरणार्थी प्रकरण: बुधबार अभियोजन दर्ता गर्ने गरी अन्तिम तयारीमा सरकारी वकिलको कार्यालय

banner single news

१० जेठ,काठमाडौं- जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने गरी अन्तिम तयारी गरिरहेको छ ।

अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भोलि बुधबार मुद्दा दर्ता गर्ने गरी अध्ययन गरिरहेका छौँ, प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुनसक्छ, अहिले अध्ययनकै चरणमा रहेकाले यही हुन्छ भन्ने अवस्था छैन ।” जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

उक्त घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन् । अरु थप १७ जनालाई प्रतिवादी भनाएर मुद्दा चलाउने राय दिइएको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनुभयो । प्रहरीका अनुसार ठगी, राज्य विरुद्धको अपराध र सङ्गठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीको छ । उक्त घटनामा थप अनुसन्धानको पाटो खुला नै रहेको पनि रिजालले बताउनुभयो । यस्तै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न लेखी पठाउन राय दिइएको छ ।

Inside Article Ads

उक्त घटनामा ६० दिन भित्रमा अभियोजन गरिसक्नुपर्छ । भोलि नै ६० दिन पुग्दैछ । यस घटनामा एक सय १३ जना पीडितले रु २७ करोड ५० लाख बढी ठगी भएको भनी उजुरी दिएका थिए । सोही आधारमा बिगोसमेत हुने गरी अभियोजन गर्न राय दिइएको प्रहरीले जनाएको छ ।

शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एमाले)का निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्वित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना फरार छन् ।

समाचार नेपाल टेलिभिजनको अनलाईन पोर्टलमा प्रकाशित छ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.