
७ पुस, चितवन । मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं. १६ मा एक गैंडा मृत फेला परेको छ । चितवनमा पाँच दिनको अवधिमा तीनवटा वयस्क गैंडा मरेका हुन् । सिद्धीगणेश सामुदायिक वनबाट नजिकै रहेको विजयनगरको गणेश मन्दिर जाने बाटो छेउको जैघाँस भएको खेतमा मृत अवस्थामा भेटिएको गैंडाको मृत्युको कारण अझै खुल्न सकेको छैन ।
विषालु मानिने जैघाँस खाएर गैंडा मरेको हुनसक्ने निकुञ्जको अनुमान छ । त्यसको दुई दिनपछि फेरि निकुञ्जको कोर क्षेत्रमा दुईवटा गैंडा मरेका हुन् ।
यही पुस १ गते नै निकुञ्जको टाइगर टप्स क्षेत्रमा पर्ने भिम्ली भन्ने ठाउँको बगरमा २६/२७ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको हाे । स्रोतका अनुसार त्यसको भोलिपल्ट पनि निकुञ्जको नवलपरासी अमलटारी क्षेत्रको आइल्याण्ड क्षेत्रमा अन्दाजी २४/२५ वर्षको पोथी गैंडा मृत फेला परेको छ ।
