
काँकडभिट्टा — ३२ श्रावण २०७८
काँकडभिट्टा, कारको ठक्करबाट स्कुटीमा सवार एक जनाको मृत्यु भएको छ । झापाको बाह्रदर्शी गाउँपालिका–७ सिमल चोकस्थित भित्री सडक खण्डमा आइतबार राति साढे १० बजे भएको दुर्घटनामा ३२ वर्षीया सरस्वती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ घर भएकी उनी कन्काई नगरपालिका–८ मा डेरा गरी बस्थिन् । टाउकोमा गम्भीर चोट लागेकी उनको बीएन्डसी अस्पताल पुर्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र–१–०१–०१२ प १९४२ नम्बरको स्कुटीलाई सोही दिशाबाट आउँदै गरेको प्र–१–०१–००१ च ७२७७ नम्बरको कारले ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटी चलाइरहेकी बाह्रदर्शी गाउँपालिका–७ बस्ने २८ वर्षीया प्रमिता कार्की सख्त घाइते छन् । उनको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ ।कार चालक इलामको जोगमाई गाउँपालिका–२ का २४ वर्षीय जंगबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।
(कान्तिपुर दैनिक)
