Fast Nepal News

दार्चुला घटनालाई गम्भीर रूपमा लिएका छौं : प्रधामन्त्री देउवा

banner single news

काठमाडौँ — १७ श्रावण  २०७८

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा शुक्रबार भएको घटनालाई आफूले गम्भीर रूपमा लिएको बताएका छन् । सत्तारूढ चार राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनका अध्यक्षहरूको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले घटना छानबिनपछि त्यहाँको समस्या समाधानमा सरकार लाग्ने बताएका छन् । सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले शनिबार प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै दार्चुलाको व्यास गाउँपालिका–२ मा सशस्त्र सीमा बल (एसएसबी) ले तुइन काटेको घटनाको छानबिन गर्न पनि माग गरेका थिए । एसएसबीका एक जवानले शुक्रबार तुइन काटिदिँदा स्थानीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता छन् । उक्त घटनाप्रति भर्त्सना गर्दै विद्यार्थी संगठनले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न सरकारसँग माग गरेका छन् ।

यस्तै, सत्तारूढ कांग्रेसले दार्चुलाको घटना अत्यन्तै आपत्तिजनक र अमानवीय रहेको जनाउँदै त्यस विषयमा भारतसँग संवाद गर्न आग्रह गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति निकाल्दै घटनासँग सम्बन्धित सबै प्रश्नप्रति सरकारको ध्यानाकर्षण गराएको जनाएका छन् । शर्माले नागरिकलाई न्याय दिलाउन र सम्बन्धित परिवारजनलाई राहत दिन सरकारसमक्ष माग गरेका छन् । यस्तै, नेताहरू मोहन वैद्य (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (नेपाल कम्युनिस्ट पार्टी), ऋषिराम कट्टेल (नेकपा) र आहुति (वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल) ले दार्चुलाको घटनाको यथार्थ विवरण सार्वजनिक गर्न र घटनाको विश्वासिलो छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।

सरकारले भने घटनाको छानबिन गर्न गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदी र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सदस्य रहेको समिति बनाएको छ । गृह मन्त्रालयले तुइनबाट युवक खसेर बेपत्ता भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सत्यतथ्य पत्ता लगाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै बेपत्ता व्यक्तिको खोजी भइरहेको पनि उल्लेख गरेका छन् ।

परराष्ट्र मन्त्रालय मौन, स्थलगत प्रतिवेदन पर्खंदै

Inside Article Ads

दार्चुला, व्यासको ‘अमानवीय घटना’ का विषयमा परराष्ट्र मन्त्रालय मौन छ । भारतीय सीमा सुरक्षाकर्मीले तुइन फुकाइदिएको भनेर स्थानीय बासिन्दा तथा प्रत्यक्षदर्शीले दाबी गरे पनि परराष्ट्रले स्थलगत विवरण र आधिकारिक प्रतिवेदन पर्खिने भएको छ । ‘दार्चुलाको घटनाबारे सञ्चारमाध्यमबाट जानकारी पाए पनि यसबारे सत्यतथ्य बुझ्न गृह मन्त्रालयले स्थलगत छानबिन अगाडि बढाएको छ, विवरण आइसकेको छैन,’ परराष्ट्र प्रवक्ता सेवा लम्सालले कान्तिपुरसँग भनिन्, ‘दिल्लीस्थित नियोगमार्फत पनि घटनाबारे बुझेपछि मात्रै केही भन्न सक्ने स्थिति रहन्छ ।’

शनिबार छुट्टी भएकाले पनि ‘थप विवरण’ प्राप्त हुन नसकेको उनले बताइन् । दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीका अनुसार काउन्सिलर यदुनाथ पौडेल र नेपाल प्रहरीका तर्फबाट एसएसपी वीरेन्द्रकुमार बस्याल तथा अनुसन्धानका तर्फबाट इन्द्रसिंह लामाको टोलीलाई घटनाको वस्तुस्थिति पहिल्याउन निर्देश गरिएको छ । पौडेल गत वर्ष दार्चुलाको सीडीओ थिए । ‘स्थलगत रूपमा दिल्लीबाट दार्चुला जाने स्थिति नरहे पनि स्थानीय तहको सुरक्षा संयन्त्र तथा जिल्ला प्रशासनको सहयोगमा दार्चुला घटनाबारे बुझ्ने काम थालिएको छ,’ ती अधिकारीले भने ।

(कान्तिपुर दैनिक)

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.