Fast Nepal News

लुटपाट गरी साथीको हत्या

banner single news

वीरगन्ज — १६ श्रावण  २०७८

वीरगन्ज, लुटपाट गर्ने उद्देश्यले काठमाडौं बस्ने साथीलाई वीरगन्ज बोलाइ हत्या गरिएको रहस्य खुलेको छ । गत बिहीबार बिहान करिब साढे १ बजेतिर वीरगन्ज महानगरपालिका– ७ राम टोलमा एक युवक सिकिस्त घाइते अवस्थामा फेला परेका थिए । उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।ती युवक थिए सर्लाही लालबन्दी– १ घर भइ काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय ज्ञानु पाख्रिन । पाख्रिन काठमाडौंमा ट्याक्सी चलाउँदै आएका थिए ।

लुटपाट गर्ने योजनाका साथ बुधबार काठमाडौंबाट वीरगन्ज बोलाइ पाख्रिनको सुनको सिक्री, औंठी र नगद १० हजार रुपैयाँ लुटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ‘चार जनाले पाख्रिनको घाँटी अठ्याएर हत्या गरी लुटपाट गरेका हुन्,’ पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले भने, ‘हत्या र लुटपाटमा संलग्न चार जनामध्ये तीन जनालाई पक्राउ गरिएको छ । एक जना भारतीय युवक फरार छन् । खोजी जारी छ ।’

प्रहरी अनुसन्धानका अनुसार करिब ६ वर्ष अगाडि टाटासुमो चलाउने क्रममा चिनजान भएका राहुल महर्जनले वीरगन्ज घुम्न बोलाएपछि दुई जना साथीका साथ ज्ञानु गत बुधबार साँझ वीरगन्ज आइपुगेका थिए । वीरगन्जको रामटोल निवासी राहुलसँगै रहेका दीप लामा तामाङ, बाराको फेटा गाउँपालिका–३ का २७ वर्षीय धनञ्जय रजक, भारत बिहार पूर्वी चम्पारण मोतीहारी घर भइ वीरगन्ज–१६ नगवा बस्ने ३० वर्षीय रवि सर्राफ र पाख्रिनसँगै काठमाडौंबाट आएका दुई जना वीरगन्ज महानगरपालिका–७ रामटोल बस्ने दीप लामा तामाङको खाली रहेको घरमा खाजा र मादक पादर्थ सेवन गरेका थिए ।

Inside Article Ads

‘बिहीबार बिहान साढे एक बजेको समयमा राहुल मर्हजन, दीप लामा, धनन्जय रजक र रवि सरार्फले काठमाडौंबाट आएका दुई जनालाई त्यही छाडेर पाख्रिनलाई थप बियर किन्ने बहाना गरी राम टोलस्थित एकान्त स्थानको खाली जग्गामा लगेका थिए,’ डीएसपी खनाल भन्छन्, ‘घाँटी अठ्याइ हत्या गरेपछि पाख्रिनले लगाएको सुनको सिक्री, सुनको औंठी, घडी र १० हजार रुपैयाँ लुटपाट गरे ।’ लुटेको सामान रवि सर्राफले लिएर भागेका थिए । अन्य तीन जना भाग्ने क्रममा नियमित गस्तीमा घटनास्थल नजिक पुगेको प्रहरी टोलीले उनीहरुलाई तत्काल नियन्त्रणमा लिएको थियो । ‘नियन्त्रणमा लिइ घटनास्थल तथा घटना विवरण यकिन गरिएको थियो,’ डीएसपी खनालले भने, ‘थप अनुसन्धान गर्दा दीप लामाले घटनास्थल नजिकै नालामा लुकाएको सुनको सिक्रीको टुक्रा बरामद भएको छ ।’

शुक्रबार अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । लुटपाट गरी अन्य धनमाल लिइ फरार रहेका रवि सर्राफको खोजी भइरहेको डीएसपी खनालले जनाए ।

(कान्तिपुर दैनिक)

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.