
काठमाडौँ — १० जेष्ठ
काठमाडौँ , झापास्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई धम्की दिएका छन् ।
प्रसाईंले सुवेदीलाई फोन गरेर भौतिक आक्रमण गर्ने धम्की दिएको सोलिडारिटी फर डा केसी अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिए । ‘तँलाई भेटे भने तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु,’ टेलिफोनमा प्रसाईंले भनेका छन् । सुवेदीका परिवारका सदस्यहरु (आमा, बुवा र बहिनी) लाई समेत जोडेर ‘डाँका’ भन्दै गालीगलौच गरिएको छ । सुवेदी केसीको चिकित्सा क्षेत्र सुधार अभियानका मिडिया संयोजक हुन् ।
प्रधानमन्त्री केपी ओलीका विश्वासप्रात्र मानिने प्रसाईंले अभियानका एक सहयोगीलाई धम्की दिएको भन्दै संयोजक क्षेत्रीले आपत्ति जनाए । बीएन्डसीलाई प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा नियमविपरीत सम्बन्धन दिने चलखेल भइरहेको छ । काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ । प्रधानमन्त्री ओलीले पनि सम्बन्धन पाउने बताइसकेका छन् ।
केसी पक्षले बीएन्डसीसहित जुनसुकै मेडिकल कलेजलाई चिकित्सा शिक्षा ऐन र नियमावलीको प्रावधानअनुसार प्रक्रिया पूरा गरेर मात्र सम्बन्धन दिनुपर्ने बताउँदै आएको छ । सञ्चालक प्रसाईंले भने ऐन जारी गर्नुअघि मनशायपत्र पाएकाले आफुले स्वतः सम्बन्धन पाउने दाबी गर्दै आएका छन् । तर मनशायपत्र नवीकरण छैन । यसपटक आफूले सम्बन्धन पाउने प्रसाईंले ठोकुवा गरिरहेका छन् ।
