Fast Nepal News

कांग्रेस महाधिवेशनमा उद्योगी–व्यवसायीको बाक्लो उपस्थिति, पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म प्रतिस्पर्धा

banner single news

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उद्योग, व्यवसाय, बैंकिङ, निर्माण, कृषि तथा पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्ने व्यवसायीहरूको उल्लेख्य उपस्थिति देखिएको छ। आर्थिक तथा व्यावसायिक क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिहरू उपसभापति, महामन्त्री, सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा प्रतिस्पर्धामा उत्रिएका छन्।

चौधरी ग्रुपका अध्यक्ष एवं पूर्वसांसद विनोद चौधरीले समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दिएका छन्। त्यस्तै स्वास्थ्य तथा शिक्षा क्षेत्रका व्यवसायी डा. सुनीलकुमार शर्मा महामन्त्री पदको प्रतिस्पर्धामा छन् भने निर्माण व्यवसायी तथा राजनीतिज्ञ बहादुरसिंह लामा सहमहामन्त्री पदमा उम्मेदवार बनेका छन्।

महाधिवेशनमा केन्द्रीय सदस्यतर्फ पनि विभिन्न व्यावसायिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति देखिएको छ। नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंह, बैंकिङ तथा कृषि क्षेत्रका भरतराज ढकाल, महिला उद्यमी तथा अर्ग्यानिक कृषि व्यवसायी शान्ता बास्कोटा कोइराला, निर्माण व्यवसायी तथा इन्जिनियर मोहन आचार्य, युवा उद्यमी किरण केसी, पर्यटन व्यवसायी सौगात थापालगायतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

व्यवसायिक पृष्ठभूमिका उम्मेदवारहरूले पूर्वाधार विकास, लगानीको वातावरण निर्माण, उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना तथा उद्योग–व्यवसायसँग सम्बन्धित ऐन–कानुनको सुधारलाई प्रमुख एजेन्डा बनाएका छन्।

महिला उद्यमी शान्ता बास्कोटा कोइरालाले राजनीति र उद्यमशीलतालाई सँगसँगै अघि बढाउँदै आर्थिक विकासलाई प्राथमिकतामा राख्ने बताएकी छन्। अर्ग्यानिक चिया, जडीबुटी तथा कृषि उत्पादनको क्षेत्रमा सक्रिय बास्कोटाले प्रत्यक्ष व्यवसायमा संलग्न व्यक्तिहरूले नीति निर्माणका क्रममा व्यावहारिक समस्या र चुनौतीलाई प्रभावकारी रूपमा उठाउन सक्ने धारणा राखेकी छन्।

Inside Article Ads

त्यस्तै बैंकिङ, वित्तीय, सहकारी तथा कृषि क्षेत्रमा लामो अनुभव भएका भरतराज ढकालले आफ्नो व्यावसायिक अनुभवलाई पार्टीको नीति निर्माण र विधान कार्यान्वयनमा उपयोग गर्ने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन्।

निर्माण व्यवसायी रवि सिंहले भने मुलुकको पूर्वाधार विकास, निर्माण क्षेत्रसँग सम्बन्धित कानुनको सुधार र संस्थागत सुशासनलाई प्राथमिकतामा राखेका छन्। निर्माण क्षेत्रमा प्रत्यक्ष काम गरेको अनुभव नीति निर्माण तहमा उपयोग गर्न सके देशको पूर्वाधार विकासमा प्रभावकारी योगदान पुग्ने उनको दाबी छ।

यस्तै निर्माण व्यवसायी तथा इन्जिनियर मोहन आचार्य, बैंकिङ, बिमा, जलविद्युत् तथा निर्माण क्षेत्रमा सक्रिय किरण केसी, पर्यटन व्यवसायी सौगात थापालगायत युवा पुस्ताका व्यवसायीहरू पनि कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने प्रयासमा छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरूको बढ्दो सहभागिताले पार्टीको आगामी आर्थिक तथा नीतिगत दिशाबारे पनि बहस सिर्जना गरेको छ। उद्योग–व्यवसाय, पूर्वाधार, लगानी र रोजगारीका विषयलाई पार्टीको मूल राजनीतिक एजेन्डासँग जोड्ने उनीहरूको प्रयासलाई महाधिवेशन प्रतिनिधिहरूले कसरी मूल्यांकन गर्छन् भन्ने विषय अहिले चासोको केन्द्रमा छ।

Visited 9 times, 9 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.