
सुमित्रा भुजेल
लमजुङ । बेँसीशहर नगरपालिका–७ स्थित त्रिवेणी युवा क्लबले आर्थिक वर्ष २०८२/८३ को वार्षिक आयव्यय विवरण सार्वजनिक गरेको छ। क्लबले वर्षभरि सञ्चालन गरेका सामाजिक, खेलकुद तथा अन्य गतिविधिको आर्थिक विवरण सार्वजनिक गरेको हो।
बेँसीशहरमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष टेकजङ गुरुङले वार्षिक प्रगति तथा आर्थिक गतिविधिबारे जानकारी गराउँदै जिल्लाकै सर्वाधिक १२ लाख रुपैयाँ पुरस्कार राशि रहेको ३३औँ त्रिवेणी कप फुटबल प्रतियोगितासहित विभिन्न कार्यक्रमको आय–व्यय प्रस्तुत गर्नुभयो।
क्लबका अनुसार आर्थिक वर्षको कुल हिसाब १ करोड ६१ लाख १७ हजार ९ सय ३ रुपैयाँ ६३ पैसा रहेको छ। यसमध्ये ९६ लाख १९ हजार १ सय ९६ रुपैयाँ खर्च भएको र ५९ लाख ९८ हजार ७ सय ७ रुपैयाँ बैंक मौज्दात रहेको छ। हिसाबमा थप ५ लाख रुपैयाँ छुट्टै समायोजन गरिएको उल्लेख छ।
क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न व्यक्ति तथा संस्थालाई सहयोग गर्नुका साथै विभिन्न कार्यक्रम सञ्चालनमा १६ लाख ७५ हजार ७ सय ७२ रुपैयाँ खर्च गरेको जनाएको छ।
त्यस्तै, ३३औँ त्रिवेणी कप फुटबल प्रतियोगिताका क्रममा खेलाडी प्रोत्साहन, जर्सी तथा खेल सामग्री, अतिथि टोली व्यवस्थापन, प्याराफिट निर्माण, रेफ्री व्यवस्थापन, अतिथि सत्कार, खेलमैदान मर्मत तथा सञ्चारलगायतका क्षेत्रमा खर्च गरिएको क्लबले जनाएको छ।
कार्यक्रममा उपाध्यक्ष इन्द्र रानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव अच्युत पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कोषाध्यक्ष केस रानाले क्लबको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
यसै अवसरमा त्रिवेणी युवा क्लबले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ। सहयोग रकमको चेक क्लबका तर्फबाट पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेललाई हस्तान्तरण गरिएको थियो।
बेँसीशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३३औँ त्रिवेणी कप सफल बनाउन आर्थिक तथा अन्य सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिएको थियो। कार्यक्रममा क्लबका पदाधिकारी, जनप्रतिनिधि, खेलप्रेमी तथा स्थानीयको सहभागिता रहेको थियो।
