
चितवन सम्वाददाता
चितवन । चितवन मेडिकल कलेजले जटिल मानिने मुटुरोगको उपचार गर्न सफल भएकाे छ ।कलेजका अनुसार,मुटुकाे उपचार गर्न अव राजधानी काठमाडौँ नै जानुपर्छ भन्ने मान्यतालाई चितवन मेडिकल कलेजले तोडेको जनाएकाे छ । मुटुरोगको जटिल उपचारसमेत हुन थालेपछि यो क्षेत्रमा कलेज अग्रणी बनेको कलेजले दावी गरेकाे छ ।
काठमाडौँको शहीद गङ्गालाल हृदयरोग केन्द्रपछि दोस्रो स्थान मेडिकल कलेजकाे रहेकाे समेत वताइएकाे छ । मुटुरोगको उपचारमा सङ्ख्यालाई आधार मान्दा कलेजमा दैनिक मुटु उपचारका लागि ६० देखि ८० बिरामी आउने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख गरिएकाे छ ।
अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार, कलेजमा हालसम्म कोरोनरी एनजिओग्राम एक हजार ८५२ को, कोरोनरी एनजिओप्लास्टी एक हजार ३२ को, पेसमेकर १५३ को, पिटिएमसि १६० को र अस्थायी पेसमेकर १३९ जनाको गरिइसकिएको छ । विगत सात वर्षयता अस्पतालले यी सेवाहरु उपलब्ध गराउँदै आएको देवकोटाले जानकारी दिए ।
अस्पतालको मुटुरोग विभागका प्रा.डा.सुधीर रेग्मीका अनुसार यहाँ शल्यक्रियाबाहेक मुटुसम्बन्धी रोगका सम्पूर्ण उपचार गरीनका साथै हाल शल्यक्रियाको तयारी पनि थालिएको वताउनु भयाे । शुरुआती चरणमा शल्यक्रिया गरिएको भए पनि बीचको समयमा रोकिएको शल्यक्रिया पुनः शुरु गर्न लागिएको हो । रेग्मीकाे दावी छ की , नेपालमै मुटुसम्बन्धी विज्ञ समूहले उपचार गर्ने महत्वपूर्ण गन्तव्यको रूपमा कलेज बनेको छ ।
प्रमुख कार्यकारी निर्देशक देवकोटाका अनुसार, कलेजको मुटु विभागमा रेग्मीसहित प्रा.डा.श्यामराज रेग्मी, सहप्राध्यापक डा विष्णुमणि धिताल, मेडिकल कलेजले लिङ्कन विश्वविद्यालयसँग सहकार्य गरेर सञ्चालन गरेको कार्डियो फेलोसिप गर्दै गरेका पाँच चिकित्सक, पाकिस्तानी विश्वविद्यालयको सहकार्यमा भइरहेको फेलोसिप गर्दै गरेका दुई चिकित्सक कार्यरत हुनुहुन्छ । यो समूहलाई प्राविधिक र नर्सिङ समूहले सहयोग पुर्याउँदै आएको छ ।
कलेजमा मुख्यगरी चितवनसहित नवलपरासी, धादिङ, लमजुङ, गोरखा, कास्की, मकवानपुर, रुपन्देही, पाल्पा, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लाबाट बिरामी आउने गरेको उनले जानकारी दिए । राजधानी काठमाडौँबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गरेकाे उनी वताउछन् ।
सबै उमेर समूहका बिरामी आउने गरेको उनको भनाइ छ । अस्पतालमा इसिजी, इको, एबिपिएम, हल्टरलगायतका उपकरणको सहयोगमा समेत उपचार गर्ने गरिएको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेले मुटुको उपचारमा गङ्गालालपछि सबैभन्दा धेरै बिरामी आफूहरुले उपचार गरेको दाबी गरे ।
विगत सात वर्षयता राजधानी काठमाडौँसहित देशैभरका बिरामीको मुटु उपचारमा आफ्नो कलेज प्रमुख गन्तव्य बन्न पुगेको उनको भनाइ छ । न्यौपानेले भने, “हामी केही महिनाभित्रमै कार्डिएक सर्जरी पुनः थाल्छौँ ।” यो शल्यक्रिया सेवा शुरु भएसँगै मुटुको भल्ब प्रत्यारोपणसमेत गर्न सकिने छ । न्यौपानेका अनुसार सरकारले विपन्न वर्गलाई उपलब्ध गराउने रु एक लाख सुविधाका लागि आवश्यक व्यवस्थापन कलेजले गर्दै आइरहेको छ । पचहत्तर वर्षमाथिका र १४ वर्षमुनिका बिरामीका लागि सरकारले दिने सुविधा यस कलेजका बिरामीका लागि पनि उपलब्ध गराउन कलेज लागिपरेको जानकारी दिनुभयाे ।
न्यौपानेले मुटुरोगको उपचार खर्चिलो हुने भएकाले सरकारले सहयोग गर्न सकेमा बिरामी लाभान्वित हुने बताए । कलेजले यहाँ सेवा शुरु नगर्दा धेरै बिरामीको उपचारको अभावमा मृत्युसमेत हुने गरेको थियो ।कलेजमा मुटुरोग उपचारका लागि छुट्टै २० शय्याको मुटु सघन उपचारकक्ष र २० शय्याको मुटुका बिरामीको साधारण कक्ष रहेको छ ।
