
समाचादाता
काठमाडौं, श्रावण– हिन्दु धर्मावलम्बीहरूका आराध्यदेव भगवान् श्रीपशुपतिनाथको पवित्र परिसरमा अहिले श्रावण महिनाको पावन अवसरमा भव्य श्रीमद्भगवत गीता महायज्ञ श्रद्धा, भक्ति र भावनाको वातावरणमा गुञ्जायमान भैरहेको छ।

उदाउँदै गरेकी सशक्त आध्यात्मिक वक्ता कथा वाचिका देवी अभियानको सुमधुर वाचनमा श्रीमद्भगवत गीता, पुराण र ऐतिहासिक पौराणिक प्रसंगहरू धारा प्रवाह रूपमा प्रवाहित भइरहेका छन्। उनका प्रवचनले उपस्थित भक्तजनको मन, बुद्धि र आत्मालाई शुद्ध बनाउँदै ज्ञान, भक्ति र कर्ममार्गमा अग्रसर गराइरहेको छ।
आयोजक समितिका तर्फबाट उद्धवकुमार घिमिरेले बताएअनुसार, श्रावण महिनाभर सञ्चालन हुने यस महायज्ञमा वेद, उपनिषद्, पुराण र महाभारतका आध्यात्मिक र ऐतिहासिक आयामहरूमा आधारित कथा र प्रवचनहरू विभिन्न विद्वान वाचकहरूको मुखारविन्दबाट निरन्तर प्रवाहित भइरहेका छन्।
घिमिरेका अनुसार, यस धार्मिक आयोजनामा सनातन धर्म, संस्कृति र सभ्यताको संरक्षण तथा प्रसारमा समर्पित व्यक्तिहरूको सम्मान कार्यक्रम पनि गरिँदैछ। साथै, यज्ञबाट संचित पुण्यलाई गुरुकुल शिक्षाको भौतिक तथा आध्यात्मिक उत्थानमा समर्पण गरिने उद्घोष गरिएको छ।
श्रावण महिना, जुन भगवान् शिवको प्रिय काल हो, त्यसै सन्दर्भमा पाशुपत क्षेत्रको महायज्ञ केवल धार्मिक अनुष्ठान मात्र नभई आध्यात्मिक जागरणको सन्देशवाहक बन्न पुगेको छ। आयोजक समितिको विश्वास छ, “यो यज्ञले आत्मशुद्धि, परिवारको कल्याण मात्र होइन, समग्र विश्व मानवताको उन्नति र शान्तिको बाटोमा योगदान पुर्याउनेछ।”
यस पावन यज्ञमा हजारौं भक्तजनको सहभागिता, भक्ति र संयमले पशुपति क्षेत्रमा आध्यात्मिक ऊर्जा प्रवाहित भइरहेको छ। पुष्पवृष्टि, आरती, रुद्राभिषेक, भजन कीर्तनजस्ता विविध आध्यात्मिक गतिविधिहरूले सम्पूर्ण वातावरणलाई ब्रह्ममय बनाएको छ।
