
हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित गैरीगाउँमा शुक्रबार जमिनमुनि हराएको गाडी तीन दिनसम्मको खोजी प्रयासपछि पनि फेला नपरेपछि अब भूगर्भविदको सहयोगमा खोजी अगाडि बढाइने भएको छ ।
गत शुक्रबार दिउँसो करिब १ बजेको समयमा गैरीगाउँको एक स्थानमा रोकिराखिएको ना ४ ख ४८३३ नम्बरको मिनी ट्रक अकस्मात् जमिन भासिएर माटोमुनि हराएको थियो ।
घटना लगत्तै प्रहरी, दमकल र अन्य प्राविधिक टोली परिचालन गरेर खोजी कार्य सुरु गरिए पनि आइतबार दिउँसोसम्म पनि गाडीको कुनै अत्तोपत्तो पत्ता लाग्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा डिएसपी श्यामु अर्यालका अनुसार प्रारम्भिक चरणमा आवश्यक खोजीका कामहरू गरिएको भए पनि गाडी फेला नपरेपछि जोखिमको मूल्याङ्कन गर्दै हाललाई स्थगित गरिएको छ ।
‘स्थलको वरिपरि पानी जमेको थियो, हामीले त्यो हटायौं । जेसीबी प्रयोग गरेर खन्ने प्रयास पनि भयो, तर थप जमिन भासिने सम्भावना रहेकाले तत्कालका लागि खोजी कार्य रोकिएको छ, डिएसपी अर्यालले भने ।
भूगर्भ विज्ञ बोलाउने निर्णय
घटनाको गम्भीरता र स्थानको संवेदनशीलता मूल्याङ्कन गर्दै हेटौंडा उपमहानगरपालिकाले आइतबार एक आकस्मिक बैठक डाकेर भूगर्भविदहरूको सहयोगमा वैज्ञानिक ढंगबाट खोजी कार्य अघि बढाउने निर्णय गरेको छ ।
