
काठमाडौं, चैत्र १६, २०८१ – नेवाः राष्ट्रिय परिषद् र स्वनिगः विशेष व्यूरोले हिजो चैत्र १५ गते नेपाः मण्डलको तीनकुनेमा राजतन्त्रवादी प्रदर्शनकारीहरूले गरेको हिंसाको कडा निन्दा गरेका छन्। उक्त प्रदर्शनमा नेवाः समुदायका सविन महर्जन र पत्रकार सुरेश रजकको हत्या भएको, साथै प्रेमलाल श्रेष्ठलगायतका स्थानीयको सम्पत्तिमा तोडफोड र आगजनी भएको भन्दै संगठनहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

नेवाः राष्ट्रिय परिषद्का संयोजक सुमन सायमी र स्वनिगः विशेष व्यूरोका संयोजक रविन्द्र श्रेष्ठद्वारा जारी संयुक्त विज्ञप्तिमा यी घटनालाई “नियोजित” र “नेवाः राष्ट्रमाथिको खेलवाड” को संज्ञा दिइएको छ। विज्ञप्तिमा भनिएको छ, “राजतन्त्रवादीहरूले नेवाः समुदायको २७० वर्षदेखिको असहमतिलाई आफ्नो सत्ता पुनःस्थापनाको स्वार्थमा प्रयोग गर्न खोजेका छन्। सविन महर्जनलाई गोली हानेर र सुरेश रजकलाई आगो लगाएर हत्या गरिएको छ, जुन अस्वीकार्य छ।”
संगठनहरूले ऐतिहासिक सन्दर्भ जोड्दै पृथ्वीनारायण शाहको गोर्खाली साम्राज्य विस्तारले नेवाः मण्डलको स्वायत्तता र वैभव समाप्त पारेको र कीर्तिपुरका जनतामाथि अत्याचार गरेको उल्लेख गरेका छन्। “हामीले गोर्खाली सत्तालाई कहिल्यै स्वीकार गरेनौं र आफ्नो राज्यत्व जोगाइराखेका छौं,” विज्ञप्तिमा भनिएको छ। साथै, पुष्पलाल श्रेष्ठ र गणेशमान सिंहजस्ता नेवाः नेताहरूले सत्ताविरुद्ध लड्दा पनि सम्मान नपाएको गुनासो गरिएको छ।
नेवाः नेतृत्वले चेतावनी दिँदै भनेका छन्, “यस्ता कार्यमा संलग्न व्यक्ति र संस्थालाई राज्यले कारबाही नगरे वा प्रश्रय दिएमा नेवाः समुदायले कडा प्रतिकार गर्नेछ, जसको जिम्मेवारी राज्यले लिनुपर्नेछ।” उनीहरूले यो घटनालाई गोर्खाली सत्तालाई बलियो बनाउन नेवाः जनताको “बलि चढाउने” कार्यको रूपमा व्याख्या गरेका छन्।
प्रहरीले उक्त घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ, तर हालसम्म आधिकारिक धारणा सार्वजनिक भएको छैन। स्थानीय बासिन्दाहरूले भने शान्ति र न्यायको माग गर्दै प्रदर्शनको तयारी गरिरहेका छन्।
