
नेपाल आइडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा नेपाल आइडल विथ स्टेन्डअप कमेडी हुने भएको छ ।
आगामी अगस्ट ३ र ४ तारिख युएईको राजधानी अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आइडल सिजन ५ का विजेता करण परियार, फष्ट रनरअप सलोनी गुरुङ , सेकेन्ड रनरअप सचिन विश्वकर्मासहित कमेडियनद्वय सुमन कोइराला दले दाइ र सजन श्रेष्ठले प्रस्तुति दिनेछन् ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनास र द अरनिको ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रम नेपाल आइडल सिजन ५ का विजेता र उपविजेताहरुको पहिलो अन्तराष्ट्रिय कार्यक्रम हो । उक्त कार्यक्रमलाई नेपालतर्फबाट दामी मिडियाले संयोजन गरेको हो । नेपाल आइडलको अन्तर्राष्ट्रिय टुरको म्यानेजमेन्ट गरिरहेको दामी मिडियाले अन्य देशहरूमा पनि कार्यक्रमको तयारी गरिरहेको सिइओ सुदिप पोख्रेलले जानकारी दिएका छन्।
गन्तव्य ट्राभल एण्ड टुरिजमले मुख्य प्रायोजन गरेको कार्यक्रममा कमेडियन सजन श्रेष्ठले पहिलो पटक युएईमा प्रस्तुति दिन लागेका हुन् । दले दाई उपनामबाट प्रख्यात कमेडियन सुमन कोइरालाको भने युएईमा यो दोस्रो शो हो । उनले यसअघि इनासकै आयोजनामा दुबईमा शो गरिसकेका छन् ।
आगामी शनिवार अगस्ट ३ तारिख अबुधाबीस्थित मेरिडियन होटलको द एक्सचेञ्ज क्लबमा हुने कार्यक्रमको व्यवस्थापन नेपाल ड्युड्स र द जात्रा ईभेन्टसले गर्दैछ भने बिबिटी रेष्टुरेन्ट, भान्साघर रेष्टुरेन्ट, गृन स्काई ट्राभल्सलगायतले प्रायोजन गरेका छन् ।
त्यसैगरी आइतबार अगस्ट ४ तारिख बरदुबईस्थित क्लब एस के सेभेनमा आयोजना हुने कार्यक्रममा एनआरएनए युएई , ग्लोबल एनआरएनए , नेपाल आदिबासी जनजाति माहासंघ, नेपाली समाज , तनहुँ समाज , कास्कीलगायत २८ बढी संघसंस्थाको सहयोग रहेको आयोजक ईनास युएईका अध्यक्ष एमडी बोहराले र द अरनिको ईन्टरटेन्मेन्टका ईश्वर श्रेष्ठले जानकारी दिएका छन् ।
कार्यक्रममा सहभागी हुने कलाकारहरूको टोली शुक्रवार एयर अरेबियामार्फत दुबई उड्ने बताइएको छ ।
