Fast Nepal News

चिनियाँ नेतालाई प्रमको जवाफः ममा कुनै समस्या छैन

banner single news

काठमाडौं, पुस १४ – आइतबार र सोमबार दिनभरि नै चिनियाँ नेताहरूले नेकपाका शीर्ष नेताहरूसँग भेट गरे। चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओको टोली तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकताका लागि २०७४ फागुन ७ मा सातबुँदे समझदारी हुनेबित्तिकै नेपाल आएको थियो। तत्कालीन समयमा दुई पार्टीलाई एकताबद्ध बनाउने काममा उनको टोलीले काम गरेको बताइन्छ।

पार्टी विभाजन हुनेबित्तिकै गुओको टोली नेपाल आएर नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्नुले यो पार्टीमा चिनियाँ प्रभाव रहेको भन्न सकिने अवस्था आएको छ। प्रधानमन्त्री ओलीसँग आइतबार राति अबेर भेटघाट गरी गुओको टोलीले पार्टी एकताका लागि पहल गर्न आग्रह गरेको थियो। टोलीले चिनियाँ राष्ट्रपति सी चिन फिङको समेत पार्टी विभाजन नहोस् भन्ने धारणा रहेको सन्देश सुनाएको थियो।

प्रधानमन्त्री ओलीले आफूमा कुनै समस्या नभएको जवाफ दिँदै यो नेकपाको आन्तरिक मामिला भएकाले यसमा अरूको सहयोग आवश्यक नहुने धारणा राखेको स्रोतको दाबी छ। ‘नेपालमा पार्टीहरू विभाजित हुन्छन्, एकता हुन्छ, यहाँको अवस्था यस्तै छ, यो आन्तरिक मामिला हो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। त्यसक्रममा चिनियाँ नेताहरूले ओली र दाहाल मिलेर अघि बढे नेपालको कम्युनिस्ट आन्दोलन सफल रहने बताएका थिए।

Inside Article Ads

ओलीसँगको भेटपछि सोमबार बिहान सो टोलीले पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष दाहालसँग भेटी नेकपामा विभाजनको कारणबारे जिज्ञासा राखेको थियो। नेकपा मिल्न सक्ने कुनै आधार बाँकी छ कि छैन भन्ने प्रश्नसमेत टोलीले राखेको थियो। उनीहरूले दाहालसँग नेपालको सिंगो कम्युनिस्ट पार्टीसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को सहकार्य रहेको बताउँदै एकता कायम रहे त्यो सहकार्य पनि यथावत् रहने जनाउ दिएका थिए। ‘पार्टी एकता जोगाउनुस्, नेपालको कम्युनिस्ट आन्दोलनमा तपाईंहरूको सहकार्य आवश्यक छ, कुनै न कुनै बिन्दुमा तपाईंहरूको एकता कायम हुनुपर्छ भन्ने चिनियाँ कम्युनिस्ट पार्टीको सन्देश छ,’ चिनियाँ टोलीनेता गुओले दाहालसँगको भेटमा भनेका थिए। नेकपा विभाजन नेपालको आन्तरिक मामिला भए पनि कम्युनिस्ट भाइचारको सम्बन्ध रहेको बताउँदै सिपिसीले नेपालमा कम्युनिस्ट एकता हेर्न चाहेको गुओले बताएका थिए। -नागरिक दैनिक

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.