
काठमाडौं ।प्रधानमन्त्रीनिवास बालुवाटारमा पुस ७ गतेदेखि सुरु भएको नेकपा (ओली पक्ष) को केन्द्रीय कमिटी बैठकमा विहीबार समापन मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देश चुनावतर्फ गयो । हामी अब चुनावको तयारीमा तीव्र ढंगले लाग्नेछौं । कतिपय विद्धान कमरेड, अधिवक्ता, कानूनका ज्ञाताहरुले संसद पुनर्स्थापना हुन्छ-हुन्छ भनेर हुँइया मच्चाइरहेका छन् । त्यसको खण्डन- संसद पुनर्स्थापना हुँदैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले अब एक-दुईवटा चुनाव लडेर, राम्रा कामहरु गरेर देखाउनुपर्ने बताएका छन् । जति नै ‘हुइँया मच्चाए पनि’ अब प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताउँदै उनले आफूहरुलाई हार्ने छुट र इजाजत नभएको बताएका छन् ।
संसद पुनर्स्थापना हुँदैन
देश चुनावतर्फ गयो । हामी अब चुनावको तयारीमा तीव्र ढंगले लाग्नेछौं । कतिपय विद्धान कमरेड, अधिवक्ता, कानूनका ज्ञाताहरुले संसद पुनर्स्थापना हुन्छ-हुन्छ भनेर हुँइया मच्चाइरहेका छन् ।
उहिले एकपटक संसद पुनर्स्थापना भयो मनमोहन अधिकारीजीले विघटन गर्दा । त्यसबेला पुनर्स्थापना गर्नका लागि बाहना थियो । एक, त्यो सरकार अल्पमतको थियो । अर्को, अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि विघटनको सिफारिस भएको थियो । यद्यपि संवैधानिक कारणले त्यो हुन सम्भव थिएन । तर, कृत्रिम ढंगले गरिएको थियो ।
अहिले त बाहानाहरु पनि छैनन्, बहुमतको सरकार हामीसँग छ, बहुमतको सरकारको प्रधानन्त्रीले सिफारिस गरेको छ र भंग भएको छ । अर्को सरकार बन्ने सम्भावना छैन, किनभने बहुमतको सरकार हामीसँग छ ।
बहुमतको सरकारले भंग गरेर अब ताजा जनादेशमा जान्छु भनिसकेको छ । अब ३६ प्रतिशत मान्छेले हाम्रो विकल्प छ, हाम्रो पार्लियामेन्टमा विकल्प छ भनेर हुन्छ र ?
आन्दोलन केका लागि ? चुनावमा सहभागी हुनोस्
अहिले सुन्दैछु, कार्की ब्याङक्वेटमा उहाँहरु, न जनयुद्धमा कोही सामेल भाको, न जनआन्दोलनमा कहिल्यै सामेल भएको, न जिन्दगीमा कहिल्यै एउटा जुलुसमा हिँडेको नारायणकाजीको नेतृत्वमा आन्दोलन गर्ने रे अझै । न जनआन्दोलनमा हिँडेको छ, न जनयुद्धमा हिँडेको छ । न त जुलुसमा नै सामेल भएको छ । जनयुद्धको नेतृत्व गरेको हुँ भन्ने प्रचण्ड खुला भइसक्दाखेरि नारायणकाजी भन्ने व्यक्ति अन्तर्वार्ता दिँदा कति डराएका थिए ? कमाण्डर रामबहादुर थापा बादल खुला भइसके, पर्दापछिबाट हात घुसारेर हात मिलाउने मान्छे उतै छ । मान्छे पर्दापछि, हातमात्रै यता मिलाउने । टेलिभिजनलाई अन्तर्वार्ता दिँदा पर्दा टाँगेर अन्तर्वार्ता दिने ।
गोलीका पर्रा छुटिरहेका बेला जनता सडकमा उत्रिएर यत्रो परिवर्तन ल्यायो । भूमिगत हिँडेर यत्रो परिवर्तन ल्यायो । ज्यान जोखिममा राखेर यत्रो परिवर्तन ल्यायो । परिवर्तन ल्याइसकेपछि पनि, लोकतन्त्र आइसकेपछि पनि एउटा मान्छे पर्दाभित्रै रहृयो । एउटा मान्छे पर्दाभित्रबाट अन्तर्वार्ता दिन्छ, उसको नेतृत्वमा आन्दोलन कठैबरा ! खुट्टी हेर्दै पत्याएँ भनेजस्तै ।
आन्दोलन, आन्दोलन केका लागि ? प्रधानमन्त्रीले नयाँ जनादेशका लागि जनतामा जाने भनेर घोषणा गरेको छ । अब जनतामा जान उहाँहरुलाई यत्रो डर किन ? उहाँहरुको टाउको ठूलो छ, विशाल । खुट्टा चाहिँ यत्रो छ । तर, जनाधारचाहिँ सानो छ । माथिचाहिँ बढ्दै जाँदा माथिचाहिँ ठूलै छ । जनताले यस्ता मान्छेलाई, यस्ता तत्वलाई देश बिगार्ने, देशको एकता तोड्ने, देशलाई अग्रगमनको बाटोमा… यस्तालाई जनताले मत दिन्छन् ? त्यसकारण उहाँहरुलाई के लागेको छ भने संसद पुनर्स्थापना गरेर जोड-घटाउ, जालझेल तिक्डम, यताउता, यता सम्झौता, उता सम्झौता, यता मिलन, उता मिलन । यता मेलमिलाप, उता मेलमिलाप आदिबाट फेरि यसो सरकारमा पुग्न पाइन्थ्यो कि ? फेरि चुनाव भयो भने त चान्स हुँदैन भनेर उहाँहरु भागिरहनुभएको छ । चुनाव भन्नेबित्तिकै आजकल उहाँहरु निद्रामा झस्किनुहुन्छ । चुनाव सम्झिनुहुन्छ झसङ्ग । जनताको भोट सम्झिनुहुन्छ, झसङ्ग । यो झस्याङ्ग हुनुपर्दैन । यो चुनावी अभियानमा सामेल हुनुहोस् म आग्रह गर्न चाहन्छु । यस महाअभियानमा सामेल हुनुहोस् ।
