Fast Nepal News

आ–आफ्नो तागत जाँच्न देशव्यापी गुट भेलामा नेकपाका नेताहरु

banner single news

काठमाडौं – पुस ४

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना समूहका नेता–कार्यकर्ताको गुट भेला गर्न थालेका छन्। ओली समूहले सातवटै प्रदेशमा युवा विद्यार्थीको भेला आयोजना गर्न लागेकै बेला दाहाल–नेपाल पक्षले ससाना समूह बनाएर गुट भेला गरिरहेका छन्।

महाधिवेशन मिति तोकिए पनि हुनेरनहुने कुनै टुंगो नभएको र शीर्ष नेताहरूबीच विवाद कायमै रहेका बेला दुवै पक्ष देशव्यापी गुट भेला गरेर पार्टीलाई तल्लो तहबाट आफ्नो पक्षमा पार्न कस्सिएका हुन्। दाहाल–नेपाल समूहले सातवटै प्रदेशका इन्चार्ज, प्रदेश अध्यक्ष तथा सचिवहरूको भेला आयोजना गर्न लागेको छ। अहिले वाग्मती प्रदेश र प्रदेश १ को भेला सकिएको छ। दुवै भेलामा दाहाल–नेपालले सम्बोधन गरेका थिए।

Inside Article Ads

प्रदेश १ को भेलामा वरिष्ठ नेता झलनाथ खनालले पनि सम्बोधन गरेका थिए। सचिवालयमा रहेका नौ सदस्यमध्ये दाहाल–नेपाल समूहमा वरिष्ठ नेता खनाल, उपाध्यक्ष वामदेव गौतम, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसहित पाँचजना रहे पनि गुट भेलामा उपाध्यक्ष गौतम भने उपस्थित भएका छैनन्। उनले आफू पाँच जनाको बैठकमा जाने तर यस्ता गुट भेलामा नजाने भनेर बहिष्कार गरिरहेका छन्। ‘अहिले भेला गर्ने बेला होइन, बैठकबाटै समस्याको समाधान खोज्नुपर्छ,’ गौतमले भने। उनले पाँचजनाको बैठकमा भने सहभागिता जनाउने बताएका छन्। दाहाल–नेपाल समूहको बाग्मती र प्रदेश १ भेलाप्रति उनको असहमति थियो।

नेताहरूको भेला गरेर दुवै पक्षका शीर्ष नेताहरूले पार्टीमा वारपारको अवस्था आउन लागेको भन्दै आ–आफ्नो तागत जाँच्न पनि भेला सुरु गरेका हुन्। आफ्नो पक्षमा कुनकुन कमिटी बहुमत अल्पमत छ भनेर पनि उनीहरूले आफ्ना समूहका नेताहरूसँग रिपोर्टिङ लिइरहेका छन्। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.