
सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा छ लाख रुपैयाँ बराबरको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।
बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको छ । आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिएका छन् ।
बिजुलीको तार सर्ट भएर घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित दुई जना घाइते भएका छन् । घाइतेको दुवै हात र खुट्टा जलेको प्रहरीले जनाएको छ । अर्का स्थानीय २३ वर्षीय राज मङ्गलको दाहिने हात जलेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
