
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय गाडीको प्रोत्साहन गर्नका लागि दिइएको छुटले ३५ अर्ब बढी राजस्व कम भएको बताएका छन् ।
भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडी आयात हुँदा राजस्व अपेक्षित उठ्न नसकेको बताएका हुन् ।
महतले भने, ‘विगतमा गाडी आयात इन्धनमा आधारित भएकोमा अहिले विद्युतीय गाडीको आयात दोब्बर भएको छ । विद्युतीय गाडीको न्यून भन्सार दर रहेको छ । विद्युतीय गाडीका कारण ३५ अर्ब कम राजस्व उठेको छ ।’
उनले राजस्वका दृष्टिले अहिले दबाबमा रहेको बताए । लक्ष्यअनुसारको राजस्व नउठ्नुमा डिजिटल कारोबारलाई पछ्याउन समस्या देखिएको उनले बताए ।
व्यवसाय गर्ने शैलीमा व्यापक परिवर्तन आएको सन्दर्भमा भन्सार र राजस्व प्रशासन सोही शैलीबाट अघि बढ्नुपर्ने अर्थमन्त्री महतको भनाइ छ ।
