
१२ श्रावण,काठमाडौँ- सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापर्बाही गरेको मुद्दामा रु ३० लाख क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ साल माघ २५ गते गरेको फैसलाको आज सार्वजनिक पूर्णपाठमा उक्त क्षतिपूर्ति हुने ठहर गरिएको हो ।
आदेशमा भनिएको छ, “आधार, प्रमाण र कारणबाट कान्ति बाल अस्पतालको चिकित्सकीय असावधानीको कारणले पीडित आठ महिनाको बच्चा आलोक बरालको स्वास्थ्यमा गम्भीर असर परेको पुष्टि हुन आएको देखिएको छ ।” श्वासप्रश्वासमा समस्या भएर उक्त अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पुर्याइएका आठ महिनाका ती बालक आलोकलाई गलत खोप दिँदा क्षति पुगेको भन्दै उक्त रकम भराउन भनिएको हो ।
