
काठमाडौँ — श्रावण ११, २०८०।
प्लस टू अध्ययनरत छात्राहरुमा केन्द्रित प्रतिभा, व्यक्तित्व, सौन्दर्य मापनको प्रतियोगिता मिस प्लस टू नेपाल २०२३ को फाइनल प्रतिस्पर्धामा आफ्ना १८ प्रतिस्पर्धीहरु भन्दा आफूलाई अब्बल प्रमाणित गर्दै शिक्षा राणाले प्रतियोगिताको शीर्ष उपाधि जित्न सफल भएकी छिन् । शिक्षाले मिस पर्सनालिटी र मिस स्टाइलिस विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाइन् । प्रतियोगितामा याङ्जी दावा लामाले फस्ट रनर विधामा आफूलाई उभ्याउन सफल भइन् भने उनी भ्युअर च्वाइसमा विजेता र पब्लिक च्वाइसमा फस्ट रनर अप चयन भइन् । यसैगरी कन्फिडेन्ट अवार्ड सहित विशाखा श्रेष्ठले सेकेन्ड रनर अप स्थान हासिल गरिन् ।

युहान इन्टरनेसनल इभेन्टस्को आयोजनामा जमल स्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सो प्रतियोगितामा झरना अधिकारी भ्युअर च्वाइस विधामा फस्ट रनर अप तथा प्रियाशा जोशी पब्लिक च्वाइस विधामा विजेताका रुपमा पुरस्कृत भएका थिए । प्रतियोगितामा कृष्टिना प्रजाले म्यानेज्मेन्ट च्वाइस, कृतिका गौतमले ट्यालेन्ट र फोटोजेनिक, समृद्धि जोशीले वेष्ट इन् इभिनिङ गाउन, सोनिमा घलानले वेष्ट वाक तथा ओसिन मालीले मिस कन्जिनियालिटीको अवार्ड जित्न सफल भएका थिए ।

संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यको उद्घोषण तथा कोरियोग्राफीमा संचालन भएको सो प्रतियोगितात्मक कार्यक्रममा चलचित्र निर्देशक एवं अभिनेता साहिल खान, इन्टरनेसनल नेपाली मोडल दिपक घिमिरे, फेसन उद्यमी स्वेता सिरोहिया रोक्का, एभिएसन उद्यमी संगीता रौनियार तथा नेपाल एयरहोस्टेस् एकेडेमीका निर्देशक रेजिना तुलाधार निर्णायकको भूमिकामा रहेका थिए । मिस प्लस टू नेपालको यस अघिका संस्करणमा सुप्रिया हमाल, अहिलेकी चर्चित अभिनेत्री आँचल शर्मा र प्रवेशिका अधिकारीले विजेताको ताज पहिरिन सफल भएका थिए ।

