Fast Nepal News

नजिकिँदै देउवा र कोइराला

देउवा अहिले वरिष्ठ नेताको हैसियत दिन तयार, उनका लागि पार्टी कार्यालयमा छुट्टै कार्यकक्ष पनि बन्दै

banner single news

२९ जेठ, काठमाडौँ – एउटै मञ्च साझेदारीसमेत नगर्ने कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिस्पर्धी शेखर कोइराला शनिबार भक्तपुर कांग्रेसको जिल्ला सम्मेलनमा सँगै देखिए । देउवानिकटका आयोजकले एकातिर देउवा र अर्कोतर्फ कोइरालाको तस्बिर अंकित ब्यानर ठाउँ–ठाउँमा राखेका थिए ।

देउवाले पार्टी कब्जा गरेको भन्दै संस्थागत रूपमा समूहका भेला मात्र होइन, पार्टी र सरकारका सम्पूर्ण जिम्मेवारीमा ४० प्रतिशत हिस्सा दाबी पनि गर्दै आएका कोइरालाले सभामा भने, ‘कांग्रेसमा गुट उपगुट केही छैन त भन्दिनँ । तर, अब पनि गुट उपगुट गरेर अघि बढ्न थाल्यौं भने हामी समाप्त हुन्छौं ।’ उनले यही वाक्य बोलेर मन्तव्य टुंग्याएपछि प्रसन्न देखिएका देउवाले सद्भावपूर्ण प्रतिक्रिया पनि दिए ।

अघिल्लो दिन, शुक्रबार पनि ‘डेमोक्र्याटिक लयर्स एसोसिएसन’ को महाधिवेशनमा सहभागी हुन देउवा र कोइराला एउटै उडानबाट चितवनको भरतपुर ओर्लिए, महामन्त्री गगन थापा भने अघिल्लो उडानबाटै पुगेका थिए । भरतपुरदेखि भक्तपुरसम्म देउवा र कोइरालाको सहयात्रा संयोग मात्र होइन, बरु अब दीर्घकालीन सहकार्यको तयारी हो भन्ने कांग्रेसीजन भन्छन्, ‘यसले अब कोइराला र महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको सहकार्य मात्र संकटमा परेका छैन, देउवा शिविरबाट उत्तराधिकारी हुन तयार भएको नेताहरूलाई पनि झस्काएको छ ।’

तीन वर्षपछि हुने १५ औं महाधिवेशनमा देउवाको उत्तराधिकारी को हुने भन्ने स्पष्ट भइसकेको छैन । देउवाका अविच्छिन्न सहयोगी तथा उपसभापति पूर्णबहादुर खड्कादेखि गत महाधिवेशनमा रणनीतिक सहयोग गर्ने प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि उनका उत्तराधिकारीका दाबेदार हुन् । यो प्रश्न किन पनि सान्दर्भिक छ भने विधानअनुसार सभापतिका रूपमा देउवाको यो अन्तिम कार्यकाल हो ।

शेखर भन्छन् : ‘हामी एउटै डुंगामा छौं, डुबे सबै डुब्छौं’

संस्थापन इतरपक्षका अर्का एक नेताका अनुसार देउवाले कोइरालालाई उत्तराधिकारी बनाउनेभन्दा पनि गगनको विद्रोहलाई निस्तेज बनाउने नीति लिएका छन् । महाधिवेशनमा पाएको ४० प्रतिशत हैसियत कोइरालालाई दिन पनि देउवा तयार थिएनन् । लोकप्रिय मतका साथ महामन्त्री निर्वाचित भएपछि देउवाले तत्काल गगनलाई उपयोग गरे । पार्टीका महत्त्वपूर्ण बैठक र छलफलमा शेखरलाई बेवास्ता गरेर गगनलाई सहभागी गराउँथे । एमसीसी पारित गर्दासम्म गगनलाई साथमा लिएर हिँडेका देउवा त्यसपछि भने शेखरलाई विश्वासमा लिने काममा लागेको ती नेता बताउँछन् ।

पार्टी महाधिवेशनपछि शेखरलाई २५ औं वरीयतामा राखेका देउवा वरिष्ठ नेताको हैसियत दिन तयार छन्, उनका लागि पार्टी कार्यालयमा छुट्टै कार्यकक्ष पनि बन्दै छ । यता, देउवालाई कोइरालाको पनि साथ छ । किनकि पार्टीबाट मन्त्री छनोट गर्दा गगनले भागबन्डाको निहुँ खोजेर महिना दिन नै रोके, तर पछि कोइरालाको सिफारिसमा देउवाले नाम टुंग्याइदिए । कोइरालाको साथ पाएपछि सभापतिले महामन्त्रीद्वयको आवाज दबाइदिएका छन् ।

देउवाले सार्वजनिक मञ्चबाटै अबको महाधिवेशनबाट नेतृत्व छाड्ने बताउँदै पनि आएका छन् । तर, त्यतिन्जेल कुरेर बस्दा पार्टी र आफूहरूको भविष्यसमेत जोखिममा पर्ने ठानेर महामन्त्री थापाले नेतृत्व बदल्ने लक्ष्यसहित जिल्ला अभियानको उद्घोष गरिसकेका छन् । यही बेला देउवाप्रति नरम नीति अख्तियार गरेर कोइरालाले संस्थापन र इतरपक्ष दुवै खेमामा हलचल पैदा गराइदिएका छन् ।

Inside Article Ads

नेता कोइराला भने गलत ‘न्यारेटिभ’ बनाएर पार्टीभित्र अनावश्यक संशय खडा गराउन खोजिएको बताउँछन् । उनले गगनसँग आफ्नो सम्बन्ध नबिग्रिएको र देउवासँग पनि चर्को द्वन्द्वमा जान नचाहेको बताए । ‘कोइराला परिवारमा हुर्केकाले मसँग एउटा संस्कार छ । चर्को शैलीमा म विरोध गर्न सक्दिनँ । पार्टीभित्र द्वन्द्व बढाएर कुनै फाइदा पनि छैन, अहिले त पार्टीको अवस्था यस्तो छ भने द्वन्द्व बढायो भने झनै के हुन्छ ?’ कोइरालाले भने, ‘तर, म देउवासँग लडेर आएको हो । देउवाको उत्तराधिकारी बन्न म किन जाने ? केही व्यक्तिले गलत भाष्य बनाएर पार्टीभित्र संशय र विवादको बीउ रोप्न खोजेका छन् । यी सबै बाहिर आएका चर्चामा कुनै सत्यता छैन ।’

पार्टीका सहमहामन्त्री बद्री पाण्डे पार्टीमा देउवा समूहको उत्तराधिकारी कोइराला बन्ने चर्चामा सत्यता नभएको दाबी गर्छन् । ‘शेखर दाइले अहिले जुन समूहको नेतृत्व गर्नुभएको छ, त्यही नै कोइराला परिवारको विरासत बोकेको समूह हो, छाडेर जानुहोला भन्ने त म कल्पनै गर्न सक्दिनँ,’ उनले भने, ‘हिजो शशांकले त्यसो भन्दाभन्दै अन्तिममा कसैको साथ नपाएको कुरा शेखर दाइलाई राम्रोसँग थाहा छ । एजेन्डाको हिसाबमा उहाँ ठीक ठाउँमा हुनुहुन्छ तर हामीबीचमा बोल्ने कुरामा सबैको एउटै दृष्टिकोण छैन । रणनीतिक रूपमा के बोल्ने, के नबोल्ने भन्नेबारेमा भने छलफल गर्नुपर्ने भएको छ ।’

संस्थापन पक्षीय केन्द्रीय सदस्य नैनसिंह महर पार्टीको आन्तरिक विषयमा कम बोले पनि सरकारका विषयमा कडा आलोचना गरेर कोइरालाले फरक विचारको नेतृत्व नछाडेको बताउँछन् । पार्टी सभापतिले आफ्नो उत्तराधिकारीका रूपमा शेखरलाई अघि बढाउने कुरामा उनी पनि विश्वस्त छैनन् । ‘बलियो पक्षलाई हात लिएर पार्टी सहज रूपमा सञ्चालन गर्ने सभापतिको स्वाभाविक रणनीति हुन सक्छ,’ उनले भने, ‘शेखर दाइले पनि पार्टीमा आफू नरम भएको क्षतिपूर्ति सत्ताको विरोध गरेर लिन खोजेको देखिन्छ ।’

शेखर कोइरालासँग निकट सम्बन्धमा रहेका विश्लेषक पुरञ्जन अचार्यको दाबीमा शेखर देउवाका फोटोकपि हुन सक्दैनन् । उनका अनुसार शेखर र गगन विभाजित भएर छुट्टै समूह पनि हुँदैनन् । उनी भन्छन्, ‘शेखर र गगन दुवै एक–अर्काका लागि आवश्यक छन् । कांग्रेसको सुधारको एजेन्डा न शेखर एक्लैले गर्न सक्छन् न त गगनले नै गर्न सक्छन् । दुई जना एकै ठाउँमा आउँदा नयाँ पार्टीमा जान खोजेका कांग्रेस कार्यकर्तालाई रोक्न सक्छन्, शेखर र गगन विभाजित भए भने कांग्रेसको भविष्य कसैले सम्हाल्न सक्दैन ।’

अर्का विश्लेषक गेजा शर्मा वाग्ले सत्ता र आगामी महाधिवेशनलाई केन्द्रमा राखेर देउवा र कोइराला दुवैले उपयोगिताको सिद्धान्तअनुसार सम्बन्ध विकसित गर्न खोजेको बताउँछन् । ‘राजनीतिक सन्देश कस्तो जान्छ र गणितीय प्रभाव कस्तो पर्छ भन्ने देउवा र कोइरालाजस्ता चतुर खेलाडीले हिसाब–किताब नगर्ने कुरै भएन तर कोइरालाका लागि यो जोखिमपूर्ण रणनीति हुनेछ,’ उनी भन्छन् ।

देउवाले १४ औं महाधिवेशनअघि ‘यो पार्टी बीपीले बनाएको हो, मैले छाड्नु पर्दा बीपीकै छोरालाई छाड्ने हो’ भनेर शशांकलाई भनेका थिए । जुन कुरा शशांकले केही दिनअघिको कान्तिपुरसँगको कुराकानीमा समेत स्मरण गराएका छन् । संस्थापन पक्षकै एक नेताका अनुसार देउवा आफू पछि आरजुको राजनीतिक भविष्य सुनिश्चित गर्न सक्ने उत्तराधिकारीको खोजीमा छन् । ‘त्यसका लागि शेखर, शशांक वा पूर्णबहादुर को हुन सक्छ, यसबीचमा देउवाले तौलिनेछन्,’ ती नेता भन्छन्, ‘जोबाट बढी सुरक्षित ठान्छन्, उसैलाई अघि बढाउन सक्ने स्थिति रहन सक्छ ।’

विश्लेषक वाग्लेका अनुसार भने कांग्रेसको भविष्यका लागि देउवा र कोइरालाको परम्परागत स्थायी गुटको विघटन अनिवार्य आवश्यकता बनिसकेको बताउँछन् । परम्परागत गुटको अन्त्य भएमा मात्रै कांग्रेस नयाँ शिराबाट रूपान्तरणको बाटोमा जान सक्ने उनको भनाइ छ ।

‘दुवैका स्थायी गुटको अन्त्य गरेर सैद्धान्तिक तथा वैचारिक आधारमा नयाँ ध्रुवीकरण र समीकरण गर्नु कांग्रेसको भविष्यका लागि अपरिहार्य छ,’ उनले भने, ‘देउवा–कोइराला निकटताले नयाँ ध्रुवीकरण र समीकरणको मार्ग प्रशस्त गरेको छ, जुन कांग्रेसको भविष्यको दृष्टिले सकारात्मक छ ।’

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.