Fast Nepal News

मुलुकको आर्थिक सङ्कटको समाधान गर्न एमालेको ध्यानाकर्षण

banner single news

१९ चैत,काठमाडौं- नेकपा एमालेले देशको वर्तमान आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले देशको वर्तमान आर्थिक सङ्कट र मिटरब्याजपीडित नागरिकका समस्या सम्बन्धमा छलफल गर्दै ती समस्या समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको एमालेका महासचिव शङ्कर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

बैठकले मौद्रिक तरलताको सङ्कट समाधानका लागि ठोस पहल गर्न, बैंक, वित्तीय संस्था र लघुवित्तहरूको ब्याजदर घटाउन, त्यसलाई बाञ्छित सीमाभित्र कायम राख्नसमेत सरकारसँग माग गरेको छ ।

“मिटरब्याजबाट पीडित नागरिक काठमाडौँ आई धर्नामा बसेको र उनीहरू शारीरिक एवं मानसिक पीडाका कारण बिरामी पर्दै गएको स्थितिप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको छ”, महासचिव पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “मुलुकको प्रचलित कानुन र वित्तीय प्रणालीका मान्यताविपरीत सर्वसाधारणलाई अप्ठ्यारोमा पारेर मिटरब्याज असुल गर्नु गैरकानुनी हो । यस सम्बन्धमा सार्वजनिक भएका कतिपय घटना अमानवीयसमेत छन् ।”

बैठकले मिटरब्याजकै पासोमा परेर कतिपय व्यक्तिले घर–जग्गा गुमाउनुपरेको, कतिपयले मुद्दा–मामिला व्यहोर्नुपरेको, कतिपय जेलमा परेको, कतिपयले घर छाड्न बाध्य हुनुपरेको र कतिपय बालबालिकाले पढाइसमेत गुमाउनुपरेको यथार्थले नेपालको संविधानमा उल्लेख गरिएको समाजवादोन्मुख राज्य र सामाजिक न्यायको सिद्धान्तकै उपहास गरिरहेको निष्कर्ष निकालेको छ ।

Inside Article Ads

“हाम्रो पार्टी यस समस्याको दिगो समाधानका लागि ठोस, सार्थक र शीघ्र पहल गर्न सरकारको ध्यानाकर्षण गर्दछ । प्रचलित कानुनविपरीत मिटरब्याज असुल गर्ने विषयलाई वित्तीय अपराध ठहर्‍याउने गरी कानुनी व्यवस्था गर्न माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “यस्तो काममा सङ्लग्नलाई तत्काल नियन्त्रणमा लिई कडा कानुनी कारबाही गर्न, उनीहरूले झुक्यानमा पारी कब्जा गरेका जग्गा–जमिन पीडितलाई फिर्ता गराउन र यस विषयमा मुद्दा लगाएर जेलमा थुनिएका या फरार हुन बाध्यहरूलाई उन्मुक्ति दिन माग गर्दछ ।”

एमालेले स्थानीय पालिकाका न्यायिक समितिमा पीडितको गुनासो सुन्ने, विवरण सङ्कलन गर्ने र त्यसका आधारमा सरकारले आवश्यक कानुनी कारबाही अगाडि बढाउने व्यवस्था गर्नसमेत माग गरेको छ ।

बैठकले मुलुकको अर्थतन्त्र सबै क्षेत्रमा सङ्टग्रस्त बन्दै गएको, व्यापार घाटा निरन्तर बढ्दो र राष्ट्रिय उत्पादन निरन्तर ओरालो लागिरहेको निष्कर्ष निकालेको छ ।

समाचार नेपाल टेलिभिजनको अनलाईन पोर्टलमा प्रकाशित छ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.