Fast Nepal News

गैरकानुनी सम्पत्ति चोख्याउन फर्जी विवरण

banner single news

फाल्गुन ,काठमाडौँ — अर्थ मन्त्रालयबाट गत वर्ष अवकाश पाएका एक सरकारी कर्मचारीले सेवामा रहँदा गैरकानुनी आर्जन गरेको सम्पत्ति वैध देखाउन कृषि आम्दानीदेखि घर बहालसम्मका फर्जी विवरण पेस गरेको भेटिएको छ । प्यूठान नगरपालिका–६ माझकोट घर भई कोटेश्वर बस्दै आएका पूर्वउपसचिव दानबहादुर केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार २ करोड १० लाख १० हजार ८ सय ८२ रुपैयाँ बिगो, त्यही बराबर जरिवाना र कैद सजाय मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले केसी सरकारी सेवामा प्रवेश गरेयताको सम्पत्ति जाँचबुझ गर्दा वैध स्रोत नखुलेको सम्पत्तिउपर बिगो, जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको बताए । ‘सरकारी सेवा प्रवेश गरेयताको ३५ वर्षमा निजको सम्पूर्ण वैधानिक आयहरूमा पारिश्रमिक बचत, विभिन्न प्रोत्साहन भत्ता पुरस्कार रकम, जग्गा बिक्री, कर्मचारी सञ्चयकोषबाट लिएको कर्जा आय, स्वआर्जित घर बहाल आय, पैत्रिक घर बहाल आय, कृषि आय, अंशबन्डाबाट प्राप्त नगद, बिमा परिपक्व भई प्राप्त गरेको रकम र बैंक ब्याजबाट प्राप्त रकमसमेत गरी ३ करोड ५१ लाख १६ हजार २० रुपैयाँ २२ पैसा देखिन्छ,’ प्रवक्ता भण्डारीले भने ।

सोही अवधिमा उनले गरेको खर्च तथा लगानी आयभन्दा अधिक देखिएको र त्यसैलाई स्रोत नखुलेको रकमका रूपमा बिगो कायम गरेर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले केसी र उनको परिवारका नाममा भएका चल/अचल सम्पत्ति जाँचबुझ गरिरहेका बखत केसीले गुपचुप पत्नीका नाममा भक्तपुरको दुवाकोटमा ६२ लाख २० हजारमा ८ आना जग्गा किनेको पनि भेटिएको छ ।

अनुसन्धानका क्रममा पेस गरेका र बयान दिइएका विवरण हेर्दा केसीले गैरकानुनी रूपमा जोडेको सम्पत्तिलाई हरप्रयासले वैध देखाउन अनेक बहाना गरेका छन् । तर, प्राविधिकसमेतको मूल्यांकनमा भएको अनुसन्धानले उनको दाबी र तथ्य/प्रमाणबीच मेल नखाने अनुसन्धानमा संलग्न स्रोत भन्छ । केसी २०४३ साउन १ मा महालेखा नियन्त्रकको कार्यालयको लेखापाल (नासु) बाट सेवा प्रवेश गरेका थिए । जुन बेला पारिवारिक आर्थिक स्थिति सामान्य थियो तर २०७८ कात्तिक ९ मा उपसचिवबाट अनिवार्य अवकाश पाउँदा ३५ वर्षको अवधिमा उनले झन्डै आधा अर्ब जति सम्पत्ति जोडेको र त्यसको स्रोत खुलाउन कठिन हुने स्रोत बताउँछ । अख्तियारले बिगो कायम गरेको रकम सरकारी कारोबारको न्यून मूल्यांकनअनुसार भएको र यो रकम हालको चलनचल्तीअनुसार खरिद–बिक्री गर्दा ठूलो अनुपातमा आउने अख्तियारले जनाएको छ ।

सरकारी सेवामा रहँदा गैरकानुनी आर्जन गरेको सम्पत्ति वैध देखाउन पारिवारिक स्थिति सम्पन्न र कृषि आम्दानीसमेत उच्च रहेको गलत विवरण अख्तियारमा पेस गरेका छन् । सधैं मालदार अड्डामा बसेका उनले घूसबापत लिएको रकम पत्नी र आफन्तका नाममा राखेर जग्गाजमिनमा लगानी गरेको देखिन्छ । २०४५ साउन ४ सम्म महालेखा नियन्त्रकको कार्यालयमा कार्यरत उनी त्यसपछि अर्थ मन्त्रालय, भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार जाँच पास परीक्षण कार्यालय, खानेपानी मन्त्रालय हुँदै अवकाश हुँदा भन्सार जाँच पास कार्यालयमै उपसचिव पदमा कार्यरत थिए । यसरी जोडेको सम्पत्ति वैध बनाउन केसीले हुँदै नभएको कृषि आम्दानीदेखि घरजग्गा किनबेचमा आम्दानी भएको सम्मका दाबी पेस गरेका छन् । कतिसम्म भने छोराछोरीको शैक्षिक शुल्क पनि अस्वाभाविक देखाएका छन् । जुन अध्ययन गरेका शैक्षिक संस्थाबाट कागजात झिकाएर अख्तियारले जाँच गरेको थियो ।

सरकारी सेवा प्रवेशयता कृषि आयमा उनले १७ लाख ४० हजार देखाएका छन् । आयोगको अनुसन्धानमा २ लाख ५ हजारको मात्रै वैध स्रोत देखिन्छ । विभिन्न मितिमा जग्गा बिक्रीबापत देखाइएको आम्दानी ६९ लाख ५५ हजार उल्लेख गरिएकामा अख्तियारको अनुसन्धानमा त्यसबापत प्राप्त रकम २ लाख २५ हजार मात्रै देखिन्छ । कोटेश्वरस्थित श्रीमती सुशीलाका नाममा रहेको एकतले घरको २०६१/६२ देखि आव २०७७/७८ सम्म १८ लाख १८ हजार रुपैयाँ घर बहालबापत भाडा उठेको दाबी गरेका छन् । तर स्रोत खुलेको रकम १ लाख ८२ हजार ७ सय ८ मात्रै भेटिएको छ । जग्गा खरिद गर्दा र घर निर्माण गर्दा स्रोत नपुगेको सम्पत्ति गैरकानुनी आर्जन मानिने र गैरकानुनी आर्जनको लगानीबाट हुने आम्दानीलाई वैध स्रोत मान्न नसकिने अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ । त्यसैले घर बहालमा लगाएबापत १६ वर्षमा उठाइएको भाडा रकम भनेर पेस गरिएको १८ लाख १८ हजारमध्ये ७ दशमलव ८५ प्रतिशतको मात्रै स्रोत खुलेको अख्तियारको जिकिर छ ।

केसीले पत्नी र छोराका नाममा गरेको जीवन बिमाबापत ४ लाख ४ हजार २ सय ६३ रुपैयाँ आम्दानी देखाएका छन् तर २ लाख ८२ हजार ५ सय ५७ रुपैयाँ मात्रै बिमाबाट प्राप्त गरेकाले बाँकी रकम गैरकानुनी रूपमा आर्जन गरेको आरोपपत्रमा उल्लेख छ । पैत्रिक सम्पत्तिमध्येको घर भाडाबाट प्राप्त आम्दानी ५ लाख उल्लेख गरिएकामा १ लाख २५ हजारको मात्रै विवरण देखिन्छ । पशुपालनबापत ११ लाख ५० हजार रुपैयाँ आम्दानी देखाइएकामा उक्त विवरण नै फर्जी भएको खुलेको छ । सार्वजनिक सेवामा रहेका बेला विदेश भ्रमण गर्दा प्राप्त विदेशी मुद्रा सटहीबापत पाएको भनेर ५१ लाख १८ हजार ८ सय ४ रुपैयाँ देखाइएको छ । तर, त्यसको स्रोत खुल्ने कुनै पनि तथ्य र प्रमाण उनले पेस गर्न सकेका छैनन् । गैरकानुनी सम्पत्तिलाई वैध देखाउनकै लागि गलत दाबी गरिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

घर निर्माण गर्दा १९ लाख १० हजार खर्च गरेको उल्लेख गरेका छन् । तर, अख्तियारको अनुसन्धानमा घर निर्माणमा ४३ लाख ८९ हजार ५ सय ७० रुपैयाँ खर्च गरेको प्राविधिक मूल्यांकनबाट पुष्टि भएको र फरक परेको रकमलाई गैरकानुनी आर्जनको हिस्साका रूपमा समावेश गरिएको छ । बिमा प्रिमियमको रकममा पनि उनले फर्जी विवरण देखाएका छन् । जुन अनुसन्धानमा दोहोरो परीक्षण गर्दा केसीको दाबीसँग मेल खाएको छैन । जीवन बिमाको प्रिमियम तिर्न १ लाख ४ हजार ८ सय ३५ रुपैयाँ खर्च भएको देखाइएको छ तर उनले प्रिमियममा २ लाख १४ हजार २ सय ६० रुपैयाँ खर्च गरेका छन् । अमिल्दो रकमलाई आयोगले गैरकानुनी ठहर्‍याएको छ ।

विशेष अदालतमा पेस भएको अख्तियारको आरोपपत्र केलाउँदा २०७८ असार ३० सम्मको ३५ वर्षमा केसीको वैधानिक आयमध्ये पारिश्रमिक ३२ लाख १९ हजार ७ सय १५, प्रोत्साहन भत्ता २ लाख ८५ हजार १ सय ८० रुपैयाँ, पुरस्कारबापत १ लाख ६ हजार ९ सय ११, जग्गा बिक्रीबाट ६९ लाख ५५ हजार ५ सय १२ रुपैयाँ उल्लेख छ ।

सोही अवधिमा सञ्चयकोषबाट लिएको कर्जा आयबापत ४४ हजार, घर बहालबाट १ लाख ८२ हजार ७ सय ८ रुपैयाँ, पैत्रिक घर बहाल आयबाट १ लाख २५ हजार, कृषि आयबाट २ लाख ५ हजार ६ सय २६, अंशबन्डाबाट प्राप्त नगद १५ लाख, बिमाबाट प्राप्त २ लाख ८२ हजार ५ सय ५७ रुपैयाँ देखिन्छ । त्यस्तै एक जना नातेदार/आफन्तबाट सापटी लिएको २ करोड १६ लाख ४८ हजार, बैंकबाट प्राप्त ब्याज ५ लाख ६० हजार ८ सय ८ समेत गरी ३ करोड ५१ लाख १६ हजार २० रुपैयाँको मात्रै स्रोत खुल्छ ।

Inside Article Ads

केसीले यो अवधिमा गरेको खर्च तथा लगानी सोही अवधिमा प्राप्त आम्दानीभन्दा २ करोड १० लाख रुपैयाँ बढी देखिन्छ । केसीले कोटेश्वरमा श्रीमतीका नाममा घर बनाउन ४३ लाख ८९ हजार ५ सय ७० रुपैयाँ खर्च गरेका छन् तर २ लाख ८० हजारको मात्रै स्रोत खुलेको छ । जग्गा खरिद र रजिस्ट्रेसन दस्तुरबापत ८५ लाख ३० हजार ८ सय, सगोलमा रहँदा नै जग्गा किन्दा केसीको भागमा परेको १ लाख ५७ हजार ८ सय ९७, छोराछोरीको अध्ययन खर्चमा भएको २४ लाख ७२ हजार २ सय ७१, सञ्चयकोषको कर्जा भुक्तानी ४४ हजार उल्लेख छ । स्वआर्जित घर बहाल करमा २ लाख ७ हजार ९ सय रुपैयाँ खर्च भएको देखाइएको छ । पैतृक घर बहाल करमा ७५ हजार, बिमाको प्रिमियम भुक्तानीमा २ लाख १४ हजार २ सय ६०, छोरीलाई दिइएको २३ लाख ५ हजार, सेयर खरिदमा २ लाख ४७ हजार ७ सय रुपैयाँ खर्च देखाइएको छ ।

सवारीसाधन खरिद गर्दा २ लाख २५ हजार ४ सय, भ्रमण खर्च २८ लाख ६६ हजार, औषधि उपचार खर्च ४६ लाख ५२ हजार, छोरीको विवाहमा सुन किन्दा २ लाख ८० हजार, भाइलाई सापटी फिर्ता २ लाख ८४ हजार र बैंक ब्यालेन्स १० लाख ५८ हजार ६ सय ४३ रुपैयाँसमेत गरी ५ करोड ६१ लाख २६ हजार ५ सय २ रुपैयाँ खर्च तथा लगानी भएको अनुसन्धानबाट खुलेको छ ।

मालपोत कार्यालयको अभिलेखअनुसार केसीले पत्नी सुशीला पण्डितका नाममा २०५४ चैत ३० मा ८ आना १ दाम क्षेत्रफल जग्गा कृष्ण श्रेष्ठबाट किनेका थिए । खरिद मूल्य ८ लाख ४१ हजार ५ सयमा किनेको देखाइए पनि त्यसको वैधानिक स्रोत ४४ दशमलव १२ प्रतिशत मात्रै स्रोत खुलेको देखिन्छ । त्यसको ४ वर्षपछि केसीले पण्डितकै नाममा नवराज अधिकारीबाट काठमाडौंमै ६ आना २ पैसा र ३ आना १ पैसा २ दामका छुट्टाछुट्टै दुई कित्ता जग्गा किनेका थिए । २०५८ पुस २६ मा ७ लाख ४२ हजारमा उक्त जग्गा किनेको देखाइए पनि वैध स्रोत भने १६ दशमलव ४९ प्रतिशतको मात्रै खुलेको छ ।

छोरीले अध्ययन गर्दा आईएस्सीको पहिलो वर्षको शुल्कबापत ४४ हजार १ सय ५० रुपैयाँ तिरेको बिल पेस गरेकामा त्यसको ११ हजार ९ सय ७३ को मात्रै स्रोत खुलेको उल्लेख छ । आरोपित केसीले प्यूठानमा २०६४ चैतमा विद्यालयमा सेयर धनी बनेर २ लाख लगानी गरेकामा ४७ प्रतिशतको मात्रै स्रोत खुलेको छ । अरू चल/अचल सम्पत्तिको पनि यसैगरी अमिल्दो हिसाब देखाइएको छ । जुन गैरकानुनी सम्पत्तिको जबर्जस्ती स्रोत खुलाउने प्रयासका रूपमा अख्तियारले व्याख्या गरेको छ । पारिवारिक सदस्य २०७५ पुस ५ मा जर्मनी भ्रमणमा जाँदा ९ लाख ७५ हजार खर्च देखाएका वैध खर्च २ लाख ५६ हजार ८ सय ७९ मात्रै खुल्ने उल्लेख छ ।

अनुसन्धानका क्रममा अख्तियारले केसीका विभिन्न मितिका लेनदेन तथा खरिद/बिक्रीसँग जोडिएका ६१ वटा कारोबारमा सूक्ष्म अनुसन्धान गरेकामा २ करोड १० लाख १० हजार ४ सय ८२ रुपैयाँको स्रोत नखुलेको जनाएको छ । स्रोत नखुलेको रकम सरकारी कारोबार गर्दाको न्यूनतम मूल्य हो । यो रकमबाट आयआर्जेको रकम अहिले ३० करोडभन्दा बढी हुने अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् । अख्तियारले बिगो भराउन मागदाबी लिएको रकममध्ये आरोपित केसीका नामबाट करिब ५५ लाख र नपुगेको बिगो पत्नीका नाममा रहेको चल/अचल सम्पत्तिबाट १ करोड ५५ लाख ५४ हजार असुलउपर गर्न भनिएको छ । एभरेस्ट बैंकमा मुद्दती खातामा रहेको १ करोड २५ लाख पनि रोक्का राखिएको छ ।

भक्तपुरको दुवाकोटस्थित २ ठाउँ, ललितपुरको इमाडोलको एक र काठमाडौंमा रहेका २ ठाउँमा घरजग्गा मुद्दाको किनारा नलागेसम्म खरिद–बिक्री गर्न नपाउने गरी रोक्का राखिएको छ । दुवाकोटका २ ठाउँमा दुई फरक–फरक कित्ताका ८ आना केसीले अख्तियारले अनुसन्धान अघि बढाएपछि किनेका थिए ।

झूटै झूट

  • पशुपालनबापत ११ लाख ५० हजार आम्दानी देखाइएकामा पूरै विवरण फर्जी
  • विदेशी मुद्रा सटहीबापत ५१ लाख १८ हजार आम्दानी देखाइएकामा सबै अवैध
  • कृषि आय १७ लाख ४० हजार भनिएकामा २ लाख ५ हजारमात्रै वैध
  • जग्गा बिक्रीबापत ६९ लाख आय देखाइएकामा स्रोत खुल्ने २ लाख मात्रै
  • १६ वर्षको घरभाडाबापत १८ लाख प्राप्त भएको देखाइएकामा १ लाख मात्रै वैध
  • पत्नी र छोराका नाममा जीवन बिमाबापत ४ लाख आम्दानी भनिएकामा स्रोत खुल्ने २ लाख ८२ हजार मात्रै
  • पैत्रिक सम्पत्तिमध्येको घर भाडाबाट ५ लाख आम्दानी उल्लेख गरेकामा १ लाख २५ हजार मात्रै वैध
  • घर बनाउँदा १९ लाख १० हजार खर्च गरेको उल्लेख गरेकामा ४३ लाख ८९ हजार खर्च भएको पुष्टि

 

समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.