
३ फाल्गुन, काठमाडौँ – काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको ‘१६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङ्गारिक कृषि मेला–२०७९’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले साना तथा घरेलु उद्योगका लागि सहजरुपमा कर्जा पाउने र त्यस्ता उद्योगबाट उत्पादित वस्तुको प्रवद्र्धनका लागि सरकारले केही महत्वपूर्ण नीतिगत व्यवस्था गर्न लागेको बताउनुभयो ।
“सरकारको नीतिबाटै साना तथा घरेलु उद्योग प्रवद्र्धन र संरक्षण गर्न आवश्यक छ । त्यसका लागि छुट्टै ऐन चाहिएको छ । यस्ता उद्योगमा लगानी बढाउन सरकारले विशेष व्यवस्था गर्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।
केही दशकअघि नेपालले कृषिउपज र खाद्य वस्तु निर्यात गर्ने गरेको बताउँदै प्रधानमन्त्री दाहालले नेपाली वस्तुको प्रयोगमार्फत नेपाली हुनुमा गर्व गर्नुपर्ने र कृषिमा आधारित उद्योगको लगानीमा बढावा दिनुपर्ने बताउनुभयो । “हामी पाँच दशक अघि खाद्यान्न निर्यात गर्थ्यौं । नेपालमा कृषिमा आधारित उद्योग बढी फस्टाउन सक्ने देखिएको छ । मौलिक उत्पादनलाई बजारीकरणका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो ।
लघु, घरेलु तथा साना उद्योगमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई सहज बनाउनका लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत पहल गरेको पनि दाहालले बताउनुभयो । त्यस्तै यस्ता उद्योगमा प्रवाह भएको कर्जाको पुनर्संरचना र पुनरतालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने बताउनुभयो ।
अहिले मुलुक वित्तीय सङ्कटको अवस्थाबाट गुज्रिरहेकाले त्यसको निराकरण सरकारको पहिलो दायित्व हुने पनि प्रधानमन्त्री दाहालको भनाइ छ । “तत्काल देखिएको वित्तीय सङ्कट हटाउनका लागि सरकार लागिपरेको छ । अर्थतन्त्र सुधार गर्नु सरकारको मुख्य कार्यभार हो र यो पटक हामीलाई असफल हुने छुट छैन ।” दाहालले भन्नुभयो ।
