
१ फागुन, काठमाडौँ -कांग्रेसका महामन्त्री गगन थापाले आज सरकारले महान जनयुद्धको अवसरमा बिदा दिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाऔँ, अन्यथा सांसदहरू आफैँले कानून निर्माणको अग्रसरता लिऊँ भन्दै सामाजिक सञ्जालको माध्यमबाट महामन्त्री थापाले बिरोध गरेका हुन्।
पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको महामन्त्री थापाको भनाई छ। ‘कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि । झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमासमेत सजिलै बिदा घोषणा गरेका उदाहरण भएको बताउँदै यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज भएको महामन्त्री थापाले बताउनुभयो।
सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो भन्दै कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालमा ट्वीट लेख्दै सार्वजनिक बिदा दिएकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। कार्यकारी स्वेच्छाचारितालाई रोक्ने व्यवस्थापिकाले भएको भन्दै थापाले यो विषयमा छुट्टै कानून बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिने महामन्त्री थापाले बताएका छन्।
