
२२ माघ, काठमाडौँ -यही माघ २७ गते दिउँसो ३ बजे संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएको छ।गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी रहेको छ। पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लाग्नुभएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेको हो। संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।
यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’भन्ने प्रावधान रहेको छ ।
