
काठमाडौं ─ ०५ भदौ २०७९
काठमाडौं , देशमा अवसरको कमी र वैकल्पिक व्यवस्था नहुँदा रोजगारीका लागि देश छाडनेहरुको लर्को लागिरहेको छ । सरकारसँग नेपाली बाहिर जान रोक्ने कुनै उपाय र योजना नभएका कारण वर्षेनी विदेशिने नेपालीको संख्या बढिरहेको छ । सरकार पनि विदेशिने नेपालीको टाउको गनेर मात्रै बसिरहेको छ भने उनीहरूले दुःख गरेर खाईनखाई विदेशबाट पठाएको रेमिट्यान्स गनेर सरकार बसिरकेको छ । त्यो पैसाको सदूपयोग कति भयो, कसरी सदूपयोग गर्ने, वैदेशिक रोजगारीमा कमाउने पैसा नेपालमै कमाउने वातावरण बनाउन जिम्मेवार नभएको सरकारले नेपाली विदेश पठाउने र उनीहरुलाई विदेशमा पुगेर अझै पैसा कमाएर पठाउन भने जोड दिइरहेको छ । सार्वजनिक कार्यक्रममै सरकारका मन्त्रीदेखि सरकारी अधिकारीह्रुले नेपालका लागि अझै १० वर्ष वैदेशिक रोजगारीको विकल्प नभएको बताएको अवस्था छ ।
साउनमा ६३ हजारले लिए श्रम स्वीकृति
चालु आवको साउन महिनामा गत वर्ष सोही अवधिको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । चालु आवको २०७९÷८० को साउनमा ६३ हजार ४२ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख रमेश अर्यालले जानकारी दिए । गत आर्थिक वर्षको साउन महिनामा २५ हजार चार सय २८ नेपालीले श्रम स्वीकृति लिएका थिए । साउनमा सबैभन्दा बढी मलेसियाका लागि २४ हजार चार सय ८४ श्रम स्वीकृति जारी भएको छ । कतारमा १२ हजार पाँच सय ७०, संयुक्त अरब इमिरेट्समा आठ हजार एक सय ४०, साउदी अरेबियामा छ हजार सात सय पाँच र कुवेतमा चार हजार दुई सय ८४ श्रम स्वीकृति जारी भएको छ । पाँच देशले मात्रै कूल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगटेका छन् । कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३२ प्रतिशत छन् भने पहिलोपटक लिने ६८ प्रतिशत छन् ।
गत आर्थिक वर्षमा दोहो¥याएर जाने ४५ प्रतिशत थिए । श्रम स्वीकृति लिनेमध्ये करिब १० प्रतिशत महिला छन् । कोभिडका कारण मलेसियाले विगतमा श्रमिक जान रोक लगाएकामा २०७८ फागुनदेखि जान सहमति दिएसँगै मलेसिया जानेको सङ्ख्या बढ्दै गएको र समग्रमा विदेशिनेको सङ्ख्या पनि बढेको सहसचिव अर्यालले जानकारी गराए ।
सरकारको प्रोत्साहन सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दृष्टिगत गरेरै विभिन्न प्रोत्साहन कार्यक्रम ल्याउन थालेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सरकारले प्राथमिक शेयर निष्कासन (आइपीओ)मा आरक्षण दिने भएको छ । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूलाई कुनै पनि कम्पनीको आइपीओ निष्कासन गर्दा १० प्रतिशत आरक्षण गर्ने व्यवस्था मिलाउन कानूनी व्यवस्था गर्ने भएको छ । यो व्यवस्था चालू आवबाटै हुने धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए । उनले भने ‘सरकारले नेपाली कामदारलाई सहजीकरण गर्न, विदेशमा बसेर पनि नेपालमा शेयर भर्न र भोलि काम सकेर फर्कदा केही रकम शेयरको रुपमा बचत होस् भन्ने उद्देश्यले दिएको सुविधा उचित हो ।’
सरकारले बजेटमै गरेको यो व्यवस्थलाई कार्यान्वयन गर्दा औपचारिक माध्यबाट रेमिट्यान्स पठाउने वातावरण पनि बन्ने तर्क उनको छ । हमालले नेपालमा वैदेशिक मुद्रा बढाउनका लागि रेमिट्यान्स भित्र्याउन वैदेशिक रोजगारीमा रहेकाहरूलाई प्रोत्साहित गर्न यस्तो व्यवस्था गर्न लागिएको बताए । यसका लागि सैद्धान्तिम स्वीकृति भइसकेकोले व्यवहारिक कार्याव्नयनको पाटोमा काम भइरहेको पनि हमालले उल्लेख गरे । यो व्यवस्था लागू भएपनि कुनै कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत शेयर जारी गर्नुपर्नेमा १० प्रतिशत वैदेशिक रोजगारीमा रहेकालाई दिनैपर्ने हुन्छ । यो अंश कुल शेयरको जम्मा ३ प्रतिशत मात्रै हो । नेपालीलाई दिइने यस्तो शेयरमा आरक्षणको सुविधाले नेपालीकै पैसा तान्ने माध्यम बनाइएको छ ।
रेमिट्यान्सको प्रमुख आधार वैदेशिक रोजगार
नेपालमा भित्रने रेमिट्यान्सको प्रमुख आधार नै वैदेशिक रोजगारी हो । नेपालबाट बर्षेनी गएका कामदारले पठाएको पैसाकै भरमा नेपाली अर्थतन्त्र धानिएको छ । नेपालको विदेशी मुद्रा सञ्चितिलाई रेमिट्यान्सले भर दिएको छ । यही रेमिट्यान्स अहिले नेपालको लाइभलाइन भएको छ । नेपालीको घर खर्च चलेको छ भने राज्यलाई डलर सञ्चितिमा सहयोग पुर्याएरहेको छ । आम नेपालीको दैनिकीमा सुधार ल्याउन पनि रेमिट्यान्सको भूमिका सर्वोपरी छ । विदेशमा बस्ने नेपालीले गरेको दुःखका कमाइ गत वर्ष नेपालमा १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो रकम अघिल्लो एक वर्षको तुलनामा ९.८ प्रतिशतले बढी हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । यो रेमिट्यान्स भित्र्याउन वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख ५४ हजार ६६० रहेका छन् यो अवधिमा नेपालबाट दोहोर्याएर जाने २ लाख ८२ हजार ४५३ जना नेपालीसहितको हो ।
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको पहिलो रोजाइ साउदी अरेबिया भएको छ । केही वर्ष अगाडिसम्म मलेसिया आकर्षक गन्तव्य हुने गरेकोमा उक्त गन्तव्य नेपालीका लागि बन्द भएपछि विकल्पमा साउदी अरेबिया हुन पुगेको हो । पछिल्लो समय मलेसियाले औपचारिक रूपमा नेपाली कामदार लगेको छैन् । यस अघि मलेसिया गएका र काम गरिरहेका बाहेक नयाँ कामदार पछिल्लो समय त्यहाँ पुगेका छैनन् । तर, पनि तुलनात्मक रूपमा अरु खाडी मुलुकको तुलनामा मलेसियामा नेपालीको कमाइ राम्रो छ । मलेसिया हावापानीको लागि उपयुक्त भएको मुलुक पनि हो । साउदी अरबियामा पछिल्लो एक वर्षमा मात्रै १ लाख २५ हजार ३७४ नेपाली पुगेका छन् । वैदेशिक रोजगार विभागको गत आर्थिक वर्ष २०७८÷७९ को तथ्यांक अनुसार यो गन्तव्य जाने नेपालीको संख्या अघिल्लो आवको भन्दा ४३७ प्रतिशतले बढेको छ । अघिल्लो आव २०७७÷७८ मा नेपालबाट जम्मा २३ हजार ३२४ जना नेपाली साउदी पुगेका छन् । वैदेशिक रोजगार विकासमा सूचना अधिकारी कृष्णप्रसाद भुसालका अनुसार नेपालबाट पछिल्लो समय साउदी जानेको संख्या बढेको छ ।
मलेसियाले नेपाली कामदार लिन नमानेपछि विकल्पमा साउदी जानेको संख्या बढेको हो । साउदीमा एकै वर्षमा ४३७.५ प्रतिशतले नेपाली कामदारको संख्या बढेको देखिएको छ । भुसालका अनुसार अघिल्लो वर्ष कोरोना महामारीका कारण ४०.६ प्रतिशतले घटेको बजारलाई गत वर्षले ढाडस दिएको हो । सामान्य समयमा भने वार्षिक साढे २ लाख नेपाली साउदी पुग्न थालिसकेका थिए । दुई वर्ष अगाडिको अवस्थामा वैदेशिक रोजगारमा जानेको कामदारको संख्या भने बढेको छ । महामारीपछि धेरै नेपाली कामदार बेरोजगार भएको, नेपालमा विकल्प नदेखेका, साथिभाइ, इष्टमित्र, नातागोता बाहिरिएर कमाएको देख्ने समाजका कारण इष्र्या गर्दै आफैं बाहिरिने एउटा समस्या छ । अर्को जमात बाध्यताले बाहिरिनेको गरेका कारण एकै वर्ष ६ लाख ४० हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या पहिलो पटक श्रम स्वीकृति लिने र पुनः लिनेको सख्ंयाका आधारमा वैदेशिक रोजगार विभागले निकालेको तथ्यांक हो । यसमध्ये ३ लाख ५४ हजार ६६० जना नेपाली पहिलो पटक श्रम स्वीकृति लिएर वैदेशीक रोजगारीका लागि विभिन्न देश गएका छन् । यो संख्या पछिल्लो दुई वर्षकै सबैभन्दा बढी भएको पनि विभागका सूचना अधिकारी भुसालले बताए ।
नेपालबाट वैदेशिक रोजगरीमा गएका प्रमुख २० वटा मुलुकमा साउदीपछि कतार हो । यो मुलकमा पछिल्लो एक वर्षमा ७६ हजार ८२२ जना नेपाली कामको सिलसिलामा पुगेका छन् । कतार गएका नेपालीको संख्या पनि अघिल्लो वर्षको तुलनामा २४७ प्रतिशतले बढेको विभागको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष नेपालबाट २२ हजार १३१ जना नेपाली कतारमा काम गर्न पुगेका थिए । नेपालबाट बाहिरिने कामदार विश्वका विभिन्न देशमा पुगेका छन् । नेपालबाट काम गर्न जाने र सरकारले श्रम स्वीकृति दिएका मुलुकमध्ये साउदी र कतारपछि संयुक्त अरब इमिरेट्स (युएई) पर्छ । यो मुलुकमा एक वर्षमा ५३ हजार मात्रै नेपाली पुगेको देखिएको छ । यो मुलुकमा नेपाली जाने क्रम पछिल्लो केही वर्षमा भने घटेको छ । साउदी र कतारमा जाने नेपाली बढेका कारण युएइमा कम भएको हो । नेपालबाट कामको सिलसिलमा जाने नेपाली धेरै जाने अरु गन्तव्यमा कुवेत, बहराइन, रोमानिया, दक्षिण कोरिया, ओमान, साइप्रस, माल्दिभ्स, जापान पर्छ । नेपालबाट पोल्याण्ड, माल्टा, टर्की, इजरायल, अफगानिस्तान, लेवनानसहित मुलुकमा पनि नेपाली काम गर्न पुगेका छन् । नेपालबाट काम गर्न जाने कामदार अहिले १९ लाख ३९ हाजर ४५ जना रहेको वैदेशिक रोजगारी विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार यो तथ्यांक २ वर्ष अगाडिको हो ।
४ बर्षदेखि बन्द मलेसिया फेरि खुल्यो
आप्रवासी कामदारका लागि मलेसिया फेरि खुलेको छ । मलेसिया मावन संसाधन मन्त्रालयले सूचना जारी गर्दै आप्रवासी कामदारलाई पुनः खुला गरिएको जानकारी दिएको हो । मन्त्रालयले केही दिनअगाडि संशोधित रोजगार ऐन १९५५ कार्यान्वयन ल्याउन लागेको भन्दै १५ दिन आप्रवासी कामदारका लागि मागपत्र प्रमाणीकरण स्वीकृति नगर्ने सूचना जारी गरेको थियो । तर, त्यहाँ स्थित कामदार र रोजगारदाताको अनुरोधमा मलेसियन सरकारले दुई दिनमा नै आप्रवासी आगमन खोल्ने निर्णय गरेको हो । मलेसियामा नेपालीहरू चरम आर्थिक शोषणमा परेको भन्दै पनि तत्कालीन श्रम मन्त्री गोकर्ण विष्टले व्यवस्थित गर्न खोज्दा उक्त गन्तव्य बन्द नै भयो । बायोमेट्रिक, भिएलएन, ओएससी, जिएससी र माइग्रामजस्ता भेण्डर कम्पनीले नेपाली श्रमिकमाथि अत्यधिक भार थपेको आरोप भन्दै ति संस्था खारेज गर्ने निर्णय भएको थियो । ती कम्पनीको सिण्डिकेट तोड्न खोज्दा भएको विवादका कारण २ जेठ २०७५ देखि नेपालीहरू मलेसिया जान पाएनन् ।
बन्द भएको १० महिनापछि २०७५ चैतदेखि मलेसिया रोजगारी खुला गरिएको भएपनि लयमा आउन नपाउँदै कोभिड–१९ महामारी सुरु भयो । जसका कारण कारण मलेसिया रोजगारीको बाटो बन्द भएको हो । मलेसिया नेपाली कामदारको मुख्य गन्तव्य हो । तर, तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले बायोमेट्रिकमा घोटाला भएको भन्दै लामो समय मलेसिया रोजगारी बन्द गरिदिए । सोही कारण नेपाली कामदारका लागि मलेसिया चार वर्ष बन्दजस्तै भयो । कोरोना भाइरसका कारण मलेसियन सरकारले नै आप्रवासी कामदारलाई रोक लगाएपछि नेपाली कामदारले पनि प्रवेश गर्न दिएन । मलेसियामा नेपाली कामदारको आकर्षक गन्तव्य भएको र संभावनाको राम्रो क्षेत्र भएको पनि म्यानपावर व्यवसायीले बताइरहेका छन । उनीहरुले यो गन्तव्य प्रवद्र्धन गर्नुपर्ने र बन्द गर्न नहुने सहजीकरणको माग गर्दै आएका पनि छन् ।
१२ कात्तिक २०७५ मै तत्कालीन श्रम मन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधन मन्त्री एम. कुलासेगरानबीच शून्य लागतमा नेपाली श्रमिक जान पाउने गरी श्रम समझदारी पत्र(एमओयु) मा हस्ताक्षर भएको थियो । उक्त समझदारीमा भएको व्यवस्थाअनुसार मलेसिया जाने नेपाली श्रमिकले कुनै पनि शुल्क तिर्नु भने पर्दैन् । सामाजिक सुरक्षाको ग्यारेन्टीसहित नेपाली कामदार मलेसिया जान पाउने व्यवस्था मिलाइएको भएपनि सो व्यवस्था कार्यान्वयन नहुदा कामदारले चर्को शुल्क भने अझै तिर्नुपर्छ । अहिले पनि नेपाली कामदारले मलेसिया जान ३ लाखसम्म खर्च गर्नेपर्ने बाध्यता छ ।
