Fast Nepal News

१७ करोडको पुल, साढे सात वर्षसम्म १० प्रतिशत

banner single news

गोरखा — १० चैत्र २०७८

गोरखा , गोरखाको गण्डकी गाउँपालिकास्थित बुटार र पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुमखोला जोड्ने पुल बनाउन साढे सात वर्षअघि सम्झौता भएको थियो । ठेकेदार पप्पु कन्स्ट्रक्सन भनेपछि दोहोर्‍याउनु नपर्ला, काम अलपत्र छ । २०७१ असारमा सम्झौता भएर २०७४ पुसमा पुल निर्माण सकिनुपर्ने थियो । तर म्याद सकिएको चार वर्षसम्म १० प्रतिशत मात्र प्रगति भएको छ । पुल बनाउन पप्पु कन्स्ट्रक्सनले त्रिशूली नदीको वारिपारि पिलर उठाएर छाडेको छ । ‘रडलगायत केही निर्माण सामग्री पनि राखिएको थियो तर त्रिशूलीले बगाइसकेको छ,’ गण्डकी गाउँपालिका–१ निवासी सीताराम विक भन्छन्, ‘सुरु–सुरुमा केही मान्छे आउँथे तर ५ वर्षदेखि कोही पनि देखिएका छैनन् ।’ निर्माण सामग्री तथा उपकरण पुर्‍याउन नसकिएको भनेर पप्पुले परियोजना अलपत्र पारेको छ । जबकि साइट हेरेर, सर्भे गरेर, लागत जोडेर मात्र ठेक्का लेनदेन हुन्छ । ‘साइट हेरेपछि नै ठेकेदारसँग सम्झौता भएको हो ।

पछि निर्माण सामग्री र उपकरण पुर्‍याउन सकिएन भन्न मिल्दैन । उसले पक्की पुल नबनाएर उन्मुक्ति पाउँदैन,’ ११ किलो–छेवेटार भालुस्वाँरा–बारपाक सडक आयोजनाका प्रमुख पशुपति ज्ञवाली भन्छन् । साढे तीन वर्षमा सकिनुपर्ने पुल साढे सात वर्षसम्म अलपत्र पार्दा पनि पप्पुको ठेक्का खोसिएको छैन । बरु सडक विभागले एक जलविद्युत् कम्पनीलाई बेलिब्रिज बनाउन लगाएको छ । बेलिब्रिज निर्माणमा अघि सरेको सुपर त्रिशूली हाइड्रोपावरलाई सडक विभागले स्टिल संरचना उपलब्ध गराएको छ । भविष्यमा पक्की पुल निर्माणलाई पनि सहज पर्ने गरी हाइड्रोपावरलाई स्टिल संरचना उपलब्ध गराएको ज्ञवाली बताउँछन् । एक सय २० मिटर लम्बाइको बेलिब्रिज बनाउन लागिएको आयोजना निर्देशक निरञ्जन रेग्मीले जानकारी दिए । ‘शिलान्यास भइसकेको पुल बन्छ होला भन्ने नै थियो,’ उनले भने, ‘हाइड्रोपावरका लागि चाहिने सामग्री पुर्‍याउन सडक विभागसँग समन्वय गरी पुलको संरचना लिएका हौं ।’ पुलसँगै दायाँ–बायाँ एप्रोच सडक पनि बन्ने उनले बताए । बुटारस्थित त्रिशूलीमा एक सय मेगावाट क्षमताको सुपर त्रिशूली हाइड्रोपावर बन्दै छ । पप्पुले अलपत्र पारेको यस्ता पुल अनेक छन् ।

बर्दियाको जब्दीघाटमा बबई खोलामाथि पुल बनाउन पप्पु कन्स्ट्रक्सनले १९ करोड ४० लाखमा ठेक्का लिएको थियो । तर निर्माण पूरा हुँदा नहुँदै पुल भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको छ ।  त्यसैले पप्पु कन्स्ट्रक्सनका पूर्वप्रोपाइटर हरिनारायण रजौरियाको सांसद पद नै निलम्बन भएको छ । धनुषाको रातो नदीमा पुल बनाउन पप्पुले दिवा कन्स्ट्रक्सनसँग मिलेर १६ करोड १७ लाखमा ठेक्का लिएको थियो । २०७१ मा ठेक्का भएर २०७३ मा सकिने भने पनि एप्रोच सडक नै बगेको छ । यो विषय पनि विवादित छ । कमला खोलामा पुल बनाउन ३० करोड १६ लाखमा पप्पुले ठेक्का लिएको १० वर्ष भएको छ । साउन २०७४ सम्म निर्माण सम्पन्न गर्न पप्पु–लुम्बिनी जेभीले ठेक्का लिएको थियो । ठेकेदारहरूले २० करोड ७५ लाख रुपैयाँ बुझिसकेका छन् भने निर्माण अलपत्र छ ।

Inside Article Ads

पश्चिम कञ्चनपुरको दैजी खोलामा २२ करोड ४५ लाख लागतको पुल बनाउन पप्पुले राजेन्द्र–आशीष जेभीसँगको सहकार्यमा ठेक्का लिएको थियो । पुस २०७२ मा ठेक्का लिएर पुस २०७४ मा सक्ने भने पनि यो आयोजना अलपत्र छ । सुर्खेतमा भेरी नदीमाथि पुल बनाउन १४ करोड २९ लाखमा पप्पु–मल्ल जेभीले नौ वर्षअघि ठेक्का लिएका थिए । यसका लागि ३ करोड ७१ लाख रुपैयाँ लिएर पनि काम सुरु नगरेको भन्दै सडक विभागसँग विवाद छ । उदयपुरको गिदेरी खोला पुल पनि पप्पुले नै अलपत्र पारेको छ । यो पुल बनाउन पप्पु र मृतसञ्जीवनीले असार २०७१ मा ठेक्का लिएका थिए । १५ करोड १३ लाख लागतमा तीन वर्षमा पुल बनाउने सम्झौता थियो तर अलपत्र छ । पप्पु–मृतसञ्जीवनी जेभीले सप्तरीको महुली घाडन खोलामा पुल बनाउन असार २०७१ मा ६ करोड १३ लाखमा ठेक्का लिएको थियो । दुई वर्षभित्र सकिनुपर्ने पुल सात वर्षसम्म पनि अलपत्र छ ।

( कान्तिपुर दैनिक )

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.