Fast Nepal News

फेरि देखिन थाल्यो बर्डफ्लु

banner single news

काठमाडौँ — २१ माघ २०७८

काठमाडौँ , बर्डफ्लु पीडित किसानलाई क्षतिपूर्ति/राहत दिन सरकारले बर्डफ्लु नियन्त्रण नियमावली जारी गरेको छ । यसअघि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मूल्यांकन समितिले बनाएको नियमअन्तर्गत ७५ प्रतिशत राहत पाएका किसानले अब नियमावलीपछि बन्ने मापदण्डका आधारमा क्षतिपूर्ति पाउनेछन् । सरकारले सोमबार राजपत्रमा ‘बर्डफ्लु नियन्त्रण नियमावली २०७८’ प्रकाशन गरेको छ । ‘बर्डफ्लुका कारण पन्छी वा पन्छीजन्य पदार्थ नष्ट गरिएका कारण हानिनोक्सानी भएका व्यक्तिलाई नेपाल सरकारले स्वीकृत गरेको मापदण्डका आधारमा राहत दिन सकिनेछ,’ नियमावलीमा भनिएको छ । नियमावली राजपत्रमा प्रकाशित भइसकेकाले राहत वितरणसम्बन्धी मापदण्ड बनाइने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए । नेपालमा बर्डफ्लु २०६० सालमा झापाबाट सुरु भएको थियो । तीन वर्षअघि विराटनगर र रसुवामा बर्डफ्लु भएपछि करिब २२ हजार कुखुरा नष्ट गरिएको थियो । गतवर्ष पनि उपत्यकासँगै कर्णालीमा समेत बर्डफ्लु देखिएको थियो ।

अहिले फेरि मोरङमा देखिएको छ । बर्डफ्लु भेटिएपछि विभागको टोलीले माघ १७ मा मोरङ ग्रामथान–१ लखन्तरी र कटहरी–७ क्षेत्रका लोकल कुखुरा ८५०, ब्रोइलर २५५०, र अन्डा १४ सय वटा नष्ट गरेको थियो । अन्य क्षेत्रमा पनि फैलिन सक्ने सम्भावना रहेकाले मापदण्ड छिट्टै बनाइने विभागले जनाएको छ । क्षतिपूर्ति/राहतका लागि अर्थ मन्त्रालयले बजेट दिने भएकाले अर्थको रायसहित उपयुक्त मोडलमा मापदण्ड तयार गरिने ढकालले बताए । मापदण्ड तयार गर्ने क्रममा प्राविधिक विज्ञ, कानुन मन्त्रालयसहित सरोकारवाला निकायको समेत रायसुझाव समेटिने जनाइएको छ । अहिले बर्डफ्लुपीडित किसानले पाउँदै आएको ७५ प्रतिशतसम्म क्षतिपूर्ति पनि उपयुक्त मोडल रहेको ढकालको भनाइ छ । यसअघि बर्डफ्लु रोग नियन्त्रण आदेश २०६४ अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने समितिले रिफारिस गरेका आधारमा क्षतिपूर्ति दिइन्थ्यो । नयाँ नियमावली जारी भएपछि उक्त आदेश खारेज गरिएको छ । नियमावलीले बर्डफ्लु नियन्त्रणमा खटिने कर्मचारीलाई पनि प्रोत्साहन सुविधा दिन सकिने जनाएको छ ।

Inside Article Ads

‘नियमावलीबमोजिम बर्डफ्लु नियन्त्रण कार्यका लागि नियन्त्रण कक्ष, प्रयोगशाला आकस्मिक रोग अन्वेषण, र्‍यापिड रेस्पोन्ससमेतका प्रतिकार्य काममा खटाइएका कर्मचारी वा व्यक्तिलाई सरकारले निर्धारण गरेबमोजिमको प्रोत्साहन सुविधा उपलब्ध गराउन सकिनेछ,’ नियमावलीमा भनिएको छ । नियमावलीअनुसार विभागका महानिर्देशकको संयोजकत्वमा बर्डफ्लु नियन्त्रण समन्वय समिति र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बर्डफ्लु नियन्त्रण समिति गठन गरिनेछ । समन्वय समितिले सरोकारवाला निकायसँग समन्वय गरी प्राविधिक काम गर्नेछ । बर्डफ्लु रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्ययोजना तथा मापदण्ड तयार गर्नेछ । बर्डफ्लुको निगरानी, आकस्मिक रोग अन्वेषण, रोग निदान तथा नियन्त्रण कक्ष स्थापनासम्बन्धी व्यवस्था पनि मिलाउनेछ ।

यसैबीच मोरङको ग्रामथान–१, खुनियाकट्टा र बुढीगंगा–५ क्षेत्रमा बर्डफ्लु देखिएको छ । किसानले पालेका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको हो । रोग अन्यन्त्र फैलिन नदिन १६ सय ५० लेयर्स कुखुरा, ५० परेवा, ४ हजार २ सय अन्डा, ११ सय ५० किलो दाना र ४ हजार गोटा अन्डा नष्ट गरी सुरक्षित किसिमले डिस्पोज गरिएको पशुसेवा विभागका निमित्त महानिर्देशक लेखराज दाहालले जानकारी दिए । ‘बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन तत्काल संघ, प्रदेश तथा स्थानीय तहका निकायको समन्वयमा विज्ञसहितको टोली परिचालन गरिएको छ । रोग देखिएयका क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी, अन्डा, दानालगायत रोग सार्न सक्ने वस्तु नष्ट गरी नियन्त्रण गरिएको छ,’ दाहालले भने, ‘रोग देखिइसकेका क्षेत्रलाई पूर्ण निःसंक्रमण गरिसकेका छौं ।’                 

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.