Fast Nepal News

भारतमा घट्यो संक्रमण

banner single news

नयाँदिल्ली — २० माघ २०७८

नयाँदिल्ली , भारतमा पछिल्लो दुई दिनदेखि लगातार कोरोना संक्रमितको संख्या २ लाख हाराहारीमा झरेको छ । बुधबार सार्वजनिक गरिएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १ लाख ६१ हजार जनामा संक्रमण पुष्टि भएको छ । एक दिन अगाडि उक्त संख्या १ लाख ६७ हजार थियो । त्यसअघि संक्रमितको संख्या २ लाख माथि थियो । तेस्रो लहर सुरु भएयता जनवरी २० मा सर्वाधिक ३ लाख ४७ हजार संक्रमित भएका थिए । जनवरी ८ सम्म संक्रमित हुनेको संख्या २ लाखभित्र थियो । २४ दिनपछि दैनिक संक्रमित हुनेको संख्या २ लाखभित्र आएको हो । संक्रमण उच्च तहमा पुगेको जनवरी २० पछि दैनिक संक्रमितको संख्या घट्दै गएको छ । सक्रिय संक्रमितको संख्या पनि त्यही अनुपातमा घट्दै गएको छ । यतिबेला भारतमा १६ लाख २१ हजार संक्रमित छन् । संक्रमण दर १० प्रतिशतभित्र आएको छ । भारतमा हालसम्म ४ करोड १६ लाख मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् ।

त्यसमध्ये ४ लाख ९७ हजार व्यक्तिको निधन भएको छ । अहिले संक्रमित बढी हुने राज्यमा केरल, तमिलनाडु, महाराष्ट्र, कर्नाटक र गुजरात छन् । कोरोनाको तेस्रो लहर सुरु हुँदै गर्दा जनवरी १ मा भारतमा २७ हजार ५ सय ५३ संक्रमित भेटिएका थिए । दिल्लीमा पछिल्लो १८ दिनमा संक्रमण दर ६ गुणाले घटेको छ । जनवरी १५ मा ३० प्रतिशतमा पुगेको संक्रमण दर ५ प्रतिशतमा झरेको जनाइएको छ । दैनिक भेटिने संक्रमित र कुल सक्रिय संक्रमितको संख्या पनि त्यही अनुपातमा घटेको छ । तेस्रो लहरमा सबैभन्दा बढी जनवरी १३ का दिन सक्रिय संक्रमितको संख्या ९४ हजार नाघेको थियो ।

Inside Article Ads

दैनिक संक्रमितको संख्या पनि ३ हजारभन्दा कम छ । मंगलबार २ हजार ६ सय ८३ र सोमबार २ हजार ७ सय ७९ जनामा संक्रमण पुष्टि भएको थियो । यस पटक सर्वाधिक दैनिक संक्रमितको संख्या जनवरी १३ मा २८ हजार ८ सय ६७ पुगेको थियो । संक्रमण दर ३० प्रतिशत हाराहारी थियो । संक्रमित हुने तुलनामा संक्रमण मुक्त हुनेको संख्या दोब्बर छ । संक्रमणको दर र संख्या घट्दै गएपछि दिल्लीमा चहलपहल बढेको छ । सरकारले पनि प्रतिबन्धहरू हटाएपछि खुलेका दिल्लीका बजार, बस र मेट्रोमा भीडभाड देखिएको छ । जोरबिजोरअनुसार बजार खुल्ने नियम हटाइएको छ । सिनेमा घर तथा रेस्टुराँ ५० प्रतिशत क्षमतामा सञ्चालनमा आएका छन् । सरकारी कार्यालय पनि ५० प्रतिशत कर्मचारीबाट चलाउने अनुमति दिइएपछि ट्राफिक चाप बढेको छ ।

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.