
लुम्बिनी — २० माघ २०७८
लुम्बिनी , रूपन्देहीको सम्मरीमाई–४ का अशोक त्रिपाठीले १० बिघा खेतमा लगाएको गहुँमा युरिया छर्न पाएका छैनन् । सहकारीमा मल छैन । कृषि सामग्री कम्पनीले नदिएको भन्दै सहकारीले फर्काउने गरेपछि उनी दिक्क छन् । जिल्लाको सीमा क्षेत्रका किसानले भारतबाट मल ल्याएर अभाव टार्न खोजे पनि प्रशासनले कडाइ गर्दा सम्भव नभएको उनले गुनासो गरे । वर्षभरिको खाद्यान्न उत्पादनमा कमी आए परिवार पाल्न समस्या हुने उनको भनाइ छ । गहुँ उत्पादन गरेर बिक्री गरेपछि लत्ताकपडा जोहो हुने उनी बताउँछन् । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ का पप्पु गुप्ता पनि मल नपाएपछि छटपटिरहेका छन् । मल खरिद गर्न घरबाट १५ किमि दूरीमा रहेको भारतीय बजार नगई नहुने स्थिति आएको उनले बताए । ‘डेढ बिघा जमिनमा लगाएको गहुँ बालीका लागि युरिया र डीएपी चाहिन्छ,’ उनले भने, ‘साझामा मल कहिले आउँछ भन्ने नै थाहा छैन रे, अब कसो गरूँ ?’ गहुँमा अहिले पानी पटाएको र पसाउन लागेकाले युरिया अत्यन्तै आवश्यक रहेको उनले सुनाए । भारतीय बजारमा केही महँगो पर्ने र चोरीपैठारी गरी ल्याएको मल बिग्रेको भए झनै अप्ठ्यारोमा पर्ने त्रास रहेको उनले बताए ।
धान र गहुँको सिजनमा मल अभाव भएको यो पहिलोपटक भने होइन । प्रत्येक वर्ष किसानलाई मल र बीउकै सास्ती हुन्छ । लुम्बिनी प्रदेशका किसानले आफूहरूलाई चाहिएका बेला पर्याप्त मल कहिल्यै पनि नपाएको गुनासो गर्दै आएका छन् । एकपटकको खेतीमा ह्वार्र मल आए जस्तो हुने र त्यसैमा हारालुछ गर्दा मल नै आवश्यकताअनुसार नपाइने उनीहरूको भनाइ छ । मल पाइने भनी तोकिएका सहकारी, एग्रोभेटमा कम मल आउने, आएको मलमा महँगो रकम लाग्ने र पुग्ने जति नपाइने भएकाले भारतसँग सीमा जोडिएका पालिकाका स्थानीय पारि गई मलका बोरा ल्याउने गर्छन् । उनीहरू मल आयात गर्न चोर बाटो प्रयोग गर्ने गर्छन् । अहिले कम्पनीमा युरिया, डीएपी र पोटास मल एक बोरा पनि मौज्दात नरहेको कृषि सामग्री कम्पनी लिमिटेड भैरहवाका इन्चार्ज पुण्य घिमिरेले जानकारी दिए । किसानले पछिल्लोपटक टप प्लेसिङ (पानी पटाएपछि छरिने मल) पाएको र मल सकिएको एक साताभन्दा बढी भइसकेको उनले बताए । ‘५० हजारटन मल आउने भनी टेन्डर भइसकेको छ,’ उनले भने, ‘मल आउने मुख्य गन्तव्य चीनमा बिदा भएका कारण अरू देशमा समेत सप्लाई रोकिएको रहेछ ।’ चीनदेखि मल उत्पादन भई भारत, नेपाललगायत अन्यत्र जाने भएकाले चीनमै उत्पादन रोकिएको र स्टकमा रहेको मल पठाउने वातावरण बिदाका कारण नभएकाले यहाँ मल अभाव भएको उनले बताए ।
( कान्तिपुर दैनिक )
